काठमाडौं। खुर्सानीको धुलो छ्यापेर भाग्न खोज्ने एक जनालाई प्रहरीले मनोहरा करिडोरमा गोली प्रहार गर्दै नियन्त्रणमा लिएको छ। खुट्टामा गोली लागेपछि पक्राउ पर्नेमा बुढानीलकण्ठ-१ सिमली गाउँ बस्ने ४० वर्षीय गणेश कार्की छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले सुकेधारामा एक जनाको आँखामा खुर्सानीको धुलो हाली लुटपाट गरेर भागेका थिए। उनीमाथि काठमाडौं-१६ सुकेधारामा सुनको सिक्री र मोबाइल लुटपाट गरी फरार रहेको आरोप छ।
कार्कीलाई प्रहरीले काठमाडौंको जडीबुटीस्थित मनोहरा खोला करिडोरमा फेला पारेको थियो। नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई समेत आँखामा खुर्सानीको धुलो हाली खुकुरी प्रहार गर्न खोजेपछि खुट्टामा गोली प्रहार गरिएको परिसरले जनाएको छ।
गोली लागि घाइते भएका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ।








