थाइल्यान्डबाट पक्राउ परिन् चर्चित टिकटकर तुल्सा अधिकारी, ठगी र सम्पत्ति शुद्धीकरण आरोप



बिजमाण्डू
२०८३ जेठ १७ गते ०९:३९ | May 31, 2026
थाइल्यान्डबाट पक्राउ परिन् चर्चित टिकटकर तुल्सा अधिकारी, ठगी र सम्पत्ति शुद्धीकरण आरोप


काठमाडौं। टिकटकमा ‘तुल्सा कलेक्सन’ नामबाट परिचित तुलसा अधिकारी पक्राउ परेकी छन्। उनलाई इन्टरपोल र नेपाल प्रहरीको समन्वयमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

Tata
GBIME

जिल्ला प्रहरी परिसर ललितपुरले प्रक्रिया अघि बढाएर रेड नोटिस जारी भएपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा उनलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार अधिकारीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ।

चीनमा बस्दै व्यापार गर्दै आएकी अधिकारी सामाजिक सञ्जालमा सक्रिय थिइन। अनुसन्धानको दायरामा परेपछि उनी नेपाल बाहिर रहेको र पछिल्लो समय थाइल्यान्डमा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अधिकारीविरुद्धको अनुसन्धान व्यवसायी कुमार चिमोरियाले दिएको उजुरीपछि सुरु भएको थियो। उजुरीका आधारमा प्रहरीले आर्थिक कारोबार तथा बैंकिङ विवरणको अध्ययन गर्दा ठूलो रकमको लेनदेन भेटिएको र त्यसपछि सम्पत्ति शुद्धीकरणको अनुसन्धानसमेत अघि बढाइएको थियो।

यसअघि जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले तुलसा अधिकारीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा अधिकारीमाथि करिब ६ करोड ५२ लाख रुपैयाँ बराबरको बिगो तथा क्षतिपूर्ति दाबी गरिएको छ। अनुसन्धानमा हुण्डीमार्फत रकम कारोबार गरिएको, अवैध स्रोतबाट प्राप्त रकम लुकाउन विभिन्न माध्यम प्रयोग गरिएको तथा सम्पत्तिको वास्तविक स्रोत छिपाइएको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा केही व्यक्तिसँगको सम्बन्ध प्रयोग गरी आर्थिक लाभ लिन खोजिएको तथा ब्ल्याकमेलिङसम्बन्धी आरोपसमेत सार्वजनिक भएका छन्। यद्यपि ती आरोपहरूमाथि पनि अनुसन्धान भइरहेकाले अदालतको फैसलाबाट मात्रै टुंगो लाग्नेछ।

नेपाल ल्याइएकी अधिकारीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको छ। प्रहरीले अदालतबाट म्याद थप गरी बयान, आर्थिक कारोबारको विश्लेषण तथा घटनासँग सम्बन्धित अन्य व्यक्तिमाथिको अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ।