काठमाडौं। स्नो रिभर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो।
कम्पनीको आइपीओ ७७ हजार ८१२ जना आवेदकले १०/१० कित्ता दरले हात पारेका छन्। बिक्री प्रबन्धकका अनुसार आइपीओमा २५ लाख ५७ हजार ८५५ जनाले २ करोड ७४ लाख ५७ हजार ६०० कित्ता सेयरका खरिदका लागि आवेदन दिएका थिए।
लगानीकर्ताले मेरो सेयर र सीडीएससीको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।
स्नो रिभर्सले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई वितरण गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७८ हजार १२५ कित्ता सेयर निष्कासन गरेको थियो।
कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर बिक्रीको अनुमति पाएको थियो।
कम्पनीले अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङा गाउँपालिका-८ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता र सिरिजङा-१, २, ३, ४, ५, ६ र ७, सिदिङ्वा गाउँपालिका-५ र ६, पाथिभरा याङवारक गाउँपालिका-५ र ६ तथा पाँचथरको हिलिहाङ गाउँपालिका-१ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर वितरण गरेको थियो।
यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कम्पनीले ९३ हजार ७५० कित्ता सेयर बिक्री गरेको थियो। कम्पनीले निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
स्नो रिभर्सले संचालन गरेको १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत् आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ छ।
आर्थिक वर्ष २०८२/८३ को पुससम्म कम्पनीको प्रति सेयर आम्दानी ४.९८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १०७.४६ रुपैयाँ छ। यस्तै, संचित मुनाफा ५ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीले विवरण पत्रमा उल्लेख गरेको छ।










