रसुवाको दालफेदीबाट करिब ३७ लाख रुपैयाँ बराबरको भेप बरामद, आठ जना पक्राउ

बिजमाण्डू
२०८३ जेठ ७ गते १२:४२ | May 21, 2026
रसुवाको दालफेदीबाट करिब ३७ लाख रुपैयाँ बराबरको भेप बरामद, आठ जना पक्राउ


काठमाडौं। रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ दालफेदीबाट करिब ३७ लाख रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। धुन्चेस्थित जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको टोलीले बुधबार राति एउटा घरमा खानतलासी ६ कार्टुन भेप बरामद भएको हो।

GBIME
Tata

स्थानीय ४४ वर्षीया मम्माया तामाङको घरमा लुकाएर राखिएको अवस्थामा प्लास्टिकको बोराभित्र ६ वटा कार्टुनमा ‘एल्फबार आइस किङ (३० हजार पफ)‘ लेखिएका १ हजार २ सय २५ थान भेप फेला परेको प्रहरीले जनाएको छ। बरामद उक्त भेपको अनुमानित बजार मूल्य ३६ लाख ७५ हजार रुपैयाँ बराबर रहेको प्रहरीद्वारा बिहीबार जारी प्रेस नोटमा छ।

अवैध भेप बरामद भएसँगै प्रहरीले ओसारपसार र भण्डारणमा संलग्न आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा घरधनी मम्माया तामाङ, ३५ वर्षीय राजकुमार तामाङ, ४७ वर्षीया छो माया तामाङ, धादिङ गंगाजमुना-३ का ४० वर्षीय केशबहादुर गुरुङ र २५ वर्षीय सहिन गुरुङ छन्।

प्रहरीले बाजुरा बडीमालिका-१० घर भई हाल काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय सागर खत्री, बालाजु बस्ने नुवाकोट तादी-४ का २७ वर्षीय सुवास तामाङ र ओखलढुंगा भदौरे-६ का २६ वर्षीय नेत्रबहादुर थापा मगरलाई पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।