कपिलवस्तुमा अस्पतालको रकम हिनामिना भएको लेखा परीक्षणबाट खुलेपछि आरोपित पाँच जना पक्राउ



बिजमाण्डू
२०८३ बैशाख ३० गते १५:४२ | May 13, 2026
कपिलवस्तुमा अस्पतालको रकम हिनामिना भएको लेखा परीक्षणबाट खुलेपछि आरोपित पाँच जना पक्राउ


काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले स्वास्थ्य शाखा प्रमुख र मेडिकल सुपरिटेन्डेन्टसहित पाँच जनालाई पक्राउ गरेको छ।

Tata
GBIME

पक्राउ पर्नेमा स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डे र नेपाल बैंक चन्द्रौटाका क्यासियर कमल प्रसाद भण्डारी छन्। त्यसैगरी अस्पतालको फार्मेसीकी सहायक रुक्साना खातुन र कार्यालय सहयोगी विक्रम केसीलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्रकुमार सिंहले बताएका छन्।

आर्थिक वर्ष २०८१/८२ को कारोबारमा अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। प्रहरीका अनुसार अस्पतालको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको सेवा शुल्क र फार्मेसीबाट औषधि बिक्रीबापत संकलन भएको रकम बैंकमा जम्मा नगरी हिनामिना गरिएको पाइएको छ।

शाखाका कर्मचारीले समय-समयमा हिसाब गरी नेपाल बैंक लिमिटेडको चन्द्रौटा शाखामा जम्मा गर्नुपर्नेमा १२९ वटा नक्कली भौचर बनाई ३८ लाख १९ हजार ७ सय ७० रुपैयाँ हिनामिना गरेको लेखा परीक्षणका क्रममा खुलेको हो। फाइलमा बैंक भौचरहरू देखिए पनि सो बमोजिमको पैसा खातामा जम्मा नभएको खुलेपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेलबासेले गत आइतबार ठगी र आपराधिक विश्वासघात सम्बन्धी जाहेरी दिएका थिए।

जाहेरीपछि प्रहरीले आरोपितहरुलाई अनुसन्धानका लागि पक्राउ गरेको हो। पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत कपिलवस्तुबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।