याम्बालिङ हाइड्रोको आइपीओ बाँडफाँट, १ लाख ७४ हजारलाई पर्दा साढे २७ लाखको हात रित्तै



बिजमाण्डू
२०८३ बैशाख ३० गते ११:११ | May 13, 2026
याम्बालिङ हाइड्रोको आइपीओ बाँडफाँट, १ लाख ७४ हजारलाई पर्दा साढे २७ लाखको हात रित्तै


काठमाडौं। याम्बालिङ हाइड्रोपावरले आइपीओ बाँडफाँट गरेको छ। बुधबार कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सेयर बाँडफाँट गर्दा साढे २७ लाख जनाभन्दा बढी आवेदक रित्तो हात भएका छन्।

Vigo
GBIME
Tata

आवेदकमध्ये १ लाख ७४ हजार ३०० जनाले १०/१० कित्ता दरले सेयर पाएका छन्। आइपीओमा २९ लाख ८२ हजार ४९८ जनाले ३ करोड २४ लाख ७८ हजार २३० कित्ता सेयरका लागि आवेदन दिएका थिए। त्यसमा ४४ हजार ४१६ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ।

स्वीकृत २९ लाख ३८ हजार ८२ आवेदनमध्ये २७ लाख ६४ हजार आवेदकको हात रित्तो भएको छ। आवेदकहरुले सीडीएससीको आइपीओ रिजल्ट साइटबाट नतिजा हेर्न सक्नेछन्।

हाइड्रोपावरले सर्वसाधारणलाई १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता सेयर निष्कासन गरेको थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन अनुमति पाएको थियो।

हाइड्रोपावरले यसअघि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका आयोजना प्रभावित स्थानीयलाई ७ करोड रुपैयाँको ७ लाख कित्ता सेयर बाँडफाँट गरेको थियो। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि २ लाख १० हजार कित्ता सेयर वितरण गरिएको छ।

याम्बालिङ हाइड्रोपावरले सञ्चालन गरेको ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख ५६ हजार ३१५ रुपैयाँ छ।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको प्रति सेयर आम्दानी ६.०८ र प्रति सेयर नेटवर्थ १०६.०८ रुपैयाँ छ। यस्तै, यो वर्ष ६ महिनामा २ करोड सञ्चित नाफामा रहेको विवरण पत्र कम्पनीले निकालेको छ।