काठमाडौं। बौद्धमार्गीहरुले बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति खारेज नगर्न माग गरेका छन्। काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समितिमा जुटेका बौद्धमार्गीले समिति खारेज नगर्न माग गरेका हुन्।
यसअघिको सरकारले गोविन्दबहादुर कार्कीको नेतृत्वमा गठन भएको सुशासन मार्गचित्र समितिले समिति खारेज गर्न सिफारिस गरेको थियो।
उक्त सिफारिसले बौद्ध धर्मावलम्कीमाथि प्रहार गरेको बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति बचाउ नागरिक अभियानका प्रवक्त टेकराज तामाङले बताए।
‘बुद्धको देशमा बौद्धमार्गीसँग सम्बन्धित राज्यको एकमात्र सरकारी निकाय गुम्बा विकास समिति खारेजीको प्रस्तावले देशभर रहेका बौद्ध सम्पदा तथा बौद्ध शिक्षामा गम्भीर असर पर्छ,’ प्रवक्ता तामाङले भने, ‘त्यसैले धार्मिक सहिष्णुता खल्बलिने खालको यस्तो निर्णय नेपाल सरकारले नगरोस् भनेर हामी गम्भीर ध्यानाकर्णण गर्दछौं।‘
प्रधानमन्त्री बालेनले शपथका क्रममा १०८ जना लामा भिक्षुबाट मंगल वाचन गराएको सन्दर्भ उल्लेख गर्दै बौद्धमार्गीले नेपाललाई बौद्धमार्गीको अध्ययन केन्द्र बनाउनुपर्नेमा गुम्बा विकास समिति हटाएर धर्ममाथि नै प्रहार गर्न खोजेको आरोप लगाए।










