काठमाडौं। सुनचाँदीको मूल्य लगातार घट्न थालेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ३ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार पनि सुन तोलामा ३ हजार रुपैयाँले घटेर प्रति तोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत सोमबार सुन प्रति तोला ३ लाख ५ सय रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा ३० रुपैयाँले घटेर बुधबार प्रति तोला ४ हजार ९ सय १५ रुपैयाँ भएको छ। सोमबारका तुलनामा १०० रुपैयाँले घट्दा मंगलबार प्रति तोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ४६०३.०७ डलर र चाँदी प्रति औंस ७३.७४ डलरले कारोबार भइरहेको छ।










