सेबोन अध्यक्षमा दरखास्त आह्वान, आवेदन पेस गर्न ७ दिन, १७ बुँदे स्वघोषणा गर्नुपर्ने



बिजमाण्डू
२०८३ बैशाख १५ गते ०९:४० | Apr 28, 2026
सेबोन अध्यक्षमा दरखास्त आह्वान, आवेदन पेस गर्न ७ दिन, १७ बुँदे स्वघोषणा गर्नुपर्ने


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ।

Tata
GBIME

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा गठित समितिले सेबोन अध्यक्षका लागि फास्ट ट्र्याकमा नाम सिफारिस गर्ने योजना अनुसार ७ दिनको समय दिएर सूचना मंगलबार निकालेको हो।

समितिले व्यक्तिगत विवरण (बायोडाटा) पेस गर्न आह्वान गरेको छ। यसअघि आवेदन पेस गर्न १५ दिन दिने गरिएको थियो।

इच्छुक व्यक्तिले बायोडाटासँगै १७ बुँदे स्वघोषणा गर्नुपर्नेछ। कुनै पनि दलको सदस्य नरहेको, सेबोनबाट इजाजतप्राप्त संस्थामा एक वर्षयता कार्यरत नरहेको, आफ्नो नाममा बेरुजु बाँकी नरहेको, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, बैंकिङ कसूर, चोरी, कीर्ते, ठगी लगायत अभियोगमा अदालतबाट कसूरदार ठहर नभएको, विदेशको पीआर नभएको लगायत स्वघोषणा गर्नुपर्नेछ।

यसअघि आवेदनसँगै व्यावसायिक कार्ययोजना माग्ने गरिएकामा यसपालि बायोडाटा हेरेर अन्तर्वार्ता लिइ नाम सिफारिस गर्न लागिएको छ।

सेबोन अध्यक्षबाट सन्तोषनारायण श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएपछि ८ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवन दहाल सदस्य छन्।

दरखास्त दिने उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै धितोपत्र बजार, वित्तीय क्षेत्र, व्यवस्थापन, कानुन, अर्थशास्त्र, लेखा, वाणिज्य, सार्वजनिक प्रशासन वा सम्बन्धित क्षेत्रमा कम्तिमा ७ वर्ष अनुभव हासिल गरेको हुनुपर्ने सूचना उल्लेख छ।

यसैगरी उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, दामासाहीमा नपरेको तथा हितको द्वन्द्व नहुने व्यक्ति हुनुपर्ने सूचनामा उल्लेख छ।