काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को सञ्चालकबाट प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।
नेप्से सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पन्दाकलाई सीडीएससीको सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको हो।
‘उहाँ सीडीएससीमा लामो समयदेखि सञ्चालक हुनुहुन्थ्यो। त्यही कारण हामीले फिर्ता बोलाउने निर्णय गरेका हौं। फिर्ता बोलाउन माथिबाट निर्देशन पनि आएको थियो,’ नेप्सेका एक सञ्चालकले भने।
नेप्सेकी कर्मचारी पन्दाक ८ वर्षदेखि सीडीएससीको सञ्चालक थिइन्। नेप्सेले सञ्चालकबाट फिर्ता बोलाएपछि उनको प्रवन्ध निर्देशक पद रहने छैन। स्रोतका अनुसार गोल्यान समूहले अदालतमा हालेको मुद्दा विचाराधिन रहेकाले पान्दाकलाई संचालकबाट हटाएर पदमुक्त गर्ने बाटो रोजिएको हो। उनी २०८१ पुस दोस्रो साता ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त भएकी थिइन्।










