काठमाडौं। प्रहरी महानिरीक्षक (आइजी) दानबहादुर कार्कीले लागूऔषध कारोबार गर्ने र सेवन गर्ने प्रति कडा ‘एक्सन’ लिन निर्देशन दिएका छन्।
बुधबार साँझ ७७ वटै जिल्लाका प्रहरी प्रमुखसँगको भर्चुअल कुराकानीमा उनले लागूऔषध कारोबार कम गर्न ‘एक्सन’मा उत्रिन निर्देशन दिएका हुन।
‘पहिलेदेखि सेवन गर्ने र कारोबार गर्ने कसैलाई नछोड्नु भन्नु भएको छ। त्यसैले हामीले मानिस खोज्दै पक्राउ गर्न थालेका छौँ,’ एक एसपीले भने।
त्यस्तै, गुन्डागर्दी गर्नेलाई पनि कानुनी दायरमा ल्याउन उनले निर्देशन दिएका छन्। बुधबार गृह मन्त्री सधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री अन्तर्गत गृह राखेर काम सुरु भएको छ।
बुधबार साँझ नै प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरुलाई डाकेर लागूऔषध कारोबार, गुन्डागर्दीविरुद्ध कडा ‘एक्सन’का साथ उत्रिन निर्देशन दिएका थिए।
त्यसपछि प्रहरी प्रमुखले आफ्ना मातहतका प्रहरीलाई थप ‘एक्टिभ’ बनाएका हुन्। त्यसैको परिमाण स्वरुप कास्की, बाँके, काठमाडौंमा रातारात पक्राउ पर्नेको संख्या बढेको छ। कास्की र बाँकेमा एक दिनमा सयभन्दा बढी मानिस समातिएका छन्।










