मोबाइल लुटपाट गर्दै डिजिटल वालेट र बैंकिङ एपबाट पैसा चोर्ने गिरोह आरोपी पक्राउ



बिजमाण्डू
२०८३ बैशाख १ गते १२:२३ | Apr 14, 2026
मोबाइल लुटपाट गर्दै डिजिटल वालेट र बैंकिङ एपबाट पैसा चोर्ने गिरोह आरोपी पक्राउ


काठमाडौं। मोबाइल चोरी गरी त्यसमा भएका डिजिटल वालेट र बैंकिङ एपबाट पैसा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको हो। त्यस्तो आरोपमा पक्राउ पर्नेहरूमा काठमाडौंका १९ वर्षीय समीर तामाङ, १८ वर्षीय जनम तामाङ र १८ वर्षीय प्रज्वल राई छन्।

प्रहरीका अनुसार उनीहरूले मोबाइल चोरी गर्ने, त्यसपछि त्यहाँ भएका वालेट रिसेट गरेर खाताबाट पैसा झिक्ने गरेको अनुसन्धानमा खुलेको हो। भुक्नानी कारोबारमा डिजिटल प्रविधि सहज भएयता गोजीमा नगद बोक्ने घटेका छन्, धेरैजसोको मोबाइलबाटै लेनदेन हुन्छ। मोबाइलमा इमेल, डिजिटल वालेट, बैंकिङ एप हुन्छ। इमेलसम्म भएपछि चोरिएका मोबाइलबाट भेरिफिकेसन कोड प्राप्त गर्न हुने सुविधा उपयोग गर्दै पैसा चोरी गर्ने गरेको पाइएको हो।

तीनै जनालाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। मोबाइल हराएमा, चोरी भएमा त्यसमा लिएका बैंकिङ सेवाहरू तत्काल नै बन्द गर्न सम्बन्धित निकायलाई जानकारी दिन प्रहरीले अनुरोध गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा मात्र दैनिक सयको हाराहारीमा मोबाइल हराएको र चोरी भएको भन्दै उजुरी पर्ने गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंबाट मात्र १४ हजार ८ सय वटा मोबाइल हराएका थिए। जसको मूल्य ५० करोड रुपैयाँ भन्दा बढी थियो।

हराएकामध्ये यस वर्ष ४ हजार १ सय ६८ मात्र फेला परेका थिए। चालु आर्थिक वर्षको मंसिर महिनासम्म मात्र ५ हजार ५ सय ५५ वटा मोबाइल हराएको भन्दै प्रहरीमा उजुरी परेको छ। जसमा २ हजार ६ सय ३५ वटा चोरी भएका उजुरी छन्।  हराएका १ हजार ९ सय ४३ वटा र पाकेटमारी भएको ९ सय ९७ वटाको उजुरी छ।