गोलबजार। सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
नगरप्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ। कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोट लागेको र हड्डीसमेत भाँचिएको जनाइएको छ। हाल उनको विराटनगरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।
सोही घटनामा प्रमुख यादवमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए।
पक्राउ पुर्जी जारी भएसँगै यादवको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ। सोही घटनामा संलग्न रहेका अर्का आरोपित नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने पक्राउ परिसकेका छन्। रासस










