काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजकुमार अर्याल रिहा भएका छन्। जिल्ला सरकारी वकिल कार्यालय काठमडौंको निर्णय अनुसार आइतबार नै उनी रिहा भएका हुन्।
जिल्ला अदालत काठमाडौंले उनलाई हिरासतमा राख्न पाँच दिनको म्याद दिइएको थियो। दोस्रो पटक म्याद थप गर्न जिल्ला सरकारी वकिल कार्यालयले मानेन।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले अर्याललाई चैत १६ गते पुतलीसडकबाट पक्राउ गरेको हो। केही दिन बयान लिएर उनलाई रिहा गरिएको हो।
‘हिरासत बाहिर नै राखेर अनुसन्धान गर्न मिल्ने भनेपछि रिहा गरिएको हो,’ ब्यूरोका एसएसपी शिवकुमार श्रेष्ठले भने।
अर्यालमाथि इन्स्योरेन्सले कर्मचारीका लागि छुट्याएको ४ लाख ८० हजार कित्ता सेयर वितरणमा मनोमानी गरेको आरोप छ। कर्मचारीका लागि छुट्याइएकोमध्ये ८० प्रतिशत सेयर सीइओ अर्यालले आफैं लिएको विषय नियामक नेपाल धितोपत्र बोर्ड हुँदै डेढ वर्षअघि सीआइबीमा पुगेका थियो।
गल्ती सच्याउने प्रतिबद्धतापछि सीआइबीले अर्याललाई छोडेको थियो। त्यसपछि उनले पुन: बाँडफाँटको प्रक्रिया अगाडि बढाइसकेको पत्र सीआइबीमा पठाएका थिए। तर, एक महिना अघि पनि त्यसको काम नभएको भन्दै धितोपत्र बोर्डबाट जानकारी आएपछि प्रहरीले पक्राउ गरेको थियो।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ ले संगठित संस्थाले कुल आइपीओको ५ प्रतिशतसम्म संस्थामा कार्यरत स्थायी कर्मचारीलाई वितरण गर्नुपर्ने व्यवस्था गरेको छ। तर अर्यालले यो सेयर कर्मचारीलाई दिएको भन्दै आफ्नै नाममा राखेका थिए। अहिले सीइआइबीले शेयर कर्मचारीलाई दिएको दाबी गरेका कुरालाई पुष्टि गर्ने आधार खोजी रहेको छ। त्यसै क्रममा केही कर्मचारीसँग पनि कागज गरिरहेको छ।
‘हामीले अन्य केही कर्मचारीसँग पनि कागज तथा सोधपुछ गरिरहा छौं,’ एक प्रहरी अधिकृतले भने।










