काठमाडौं। एपोलो हाइड्रोपावरले आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकालाई सेयर वितरण गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री खुलाएको हो।
हाइड्रोपावरले सर्वसाधारणलाई ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता छुट्याएको छ। कम्पनीको आइपीओमा लगानीकर्ताले बिहीबारदेखि २०८३ वैशाख २ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन्।
एपोलो हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीलाई जारी पुँजी ४७ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर बिक्रीको अनुमति पाएको छ।
कम्पनीले यसअघि स्थानीय, वैदेशिक रोजगार,कर्मचारी र सामूहिक लगानी कोषलाई सेयर वितरण गरिसकेको छ।
आइपीओ निष्कासन गर्न कम्पनीले गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
एपोलो हाइड्रोपावरले सञ्चालन गरेको ६ मेगावाटको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ छ।
आयोजनाको प्रति मेगावाट अनुमानित लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल छ। हाइड्रोपावरको २०८१/८२ सम्म प्रति सेयर नेटवर्थ १११.९९ रुपैयाँ र प्रति सेयर आम्दानी ४.७० रुपैयाँ छ।
यस अवधिमा कम्पनीको ३ करोड ९४ लाख रुपैयाँ जगेडा कोषमा रकम रहेको विवरणपत्रमा उल्लेख छ।










