काठमाडौं। ‘बिचौलिया’ दीपक भट्टका व्यावसायिक साझेदार सुलभ अग्रवाल पक्राउ परेका छन्। उनलाई भैरहवाबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको हो।
भट्टसँग जोडिएका शंकर समूहका चेयरम्यान शंकर अग्रवालपछि भाइस चेयरम्यान सुलभ पनि पक्राउ परेका हुन्। भट्ट पक्राउ परेसँगै उनका व्यावसायिक साझेदारमाथि पनि धरपकड सुरु भएको हो। शंकरलाई नियन्त्रमा लिएको प्रहरीले सुलभलाई खोजी गर्दा उनी भारत पुगेका थिए।
‘बोलाएर भैरहवाबाट नियन्त्रणमा लिएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘काठमाडौं ल्याइँदैछ।’ सुलभलाई प्रहरीले ह्वाट्सएपमा कल गरेर नेपाल आएपछि नियन्त्रणमा लिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभलाई पक्राउ गरेको हो। भट्टसँगको कनेक्सनका आधारमा उनी पक्राउ परेका हुन्।
बिचौलिया भट्टसँग मिलेर सुलभले गैरकानुनी रूपमा आर्थिक क्रियाकलाप अघि बढाएका थिए।
सुलभले आइपीओ निष्कासन गर्नका लागि २ देखि ५ प्रतिशत कमिसन लिन्थे। हरेक आइपीओको आवेदन दिने लगानीकर्ताले सुलभलाई नभेटी स्वीकृत हुँदैनथ्यो भेट्न आएकालाई अघि राख्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई टेलिफोन गर्दै त्यो फाइल स्वीकृत गर्नु भन्ने आदेश दिन्थे।
सुलभको ज्यादती बढेपछि ऊर्जा उत्पादकले सामूहिक छलफल गरेका थिए। होटेल र्याडिसनको छलफलमा अधिकांश व्यवसायीले कमिसन बिना आइपीओ स्वीकृत नभएको पीडा पोखेका थिए। उनीहरूले सार्वजनिक रूपमा कमिसन लिएको बोल्दा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उल्टै ऊर्जा उद्यमीमाथि निसाना साधेका थिए। त्यही निसानास्वरूप ‘टेक अर पे’ बजेटमा छिराएका थिए।
सुलभले कमिसन उठाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी पाएपछि र्याडिसन होटेलमा सहभागी भएका आफू निकटका ऊर्जा उद्यमीलाई धम्की दिएर कमिसन नमागेको बोल्न निर्देशनसमेत दिइएको थियो।










