- मनोज धौराली
नेपाल भौगर्भिक, भौगोलिक र वातावरणीय कारणले गर्दा विश्वकै उच्च विपद् जोखिमयुक्त क्षेत्रमा पर्छ। बाढी, पहिरो, भूकम्प, आगलागी, चट्याङ, हिमताल विष्फोटन, र खडेरी जस्ता बहु-प्रकोपीय जोखिमहरु नेपालमा देखिने गरेको छ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको प्रतिवेदन अनुसार नेपाल भूकम्पीय जोखिममा ११औं र जलवायु परिवर्तनजन्य जोखिममा चौथो स्थानमा रहेको छ। भूकम्पीय जोखिम, भौगोलिक बनावट र कमजोर भू-बनोट, मनसुनी वर्षा र पानीजन्य प्रकोप, जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण र बस्ती, वन विनाश, हुलदंगा, हडताल तथा द्वेषपूर्ण कार्य, सीमित पूर्वतयारी जस्ता कारणले हरेक वर्ष धेरै जनधनको क्षति हुने गरेको छ। तसर्थ निर्जीवन बीमा त्यस्तो वित्तीय सुरक्षा कवच हो जसले बीमितको बीमायोग्य सम्पत्तिको रक्षावरण गरी बीमितको वित्तीय जोखिमलाई न्यूनिकरण गर्न सहयोग गर्दछ।
हालसम्म नेपाली निर्जीवन बीमा कम्पनीहरूले पारंपरिक कार्यशैलीमा नै परम्परागत बीमासेवाहरू प्रदान गरिरहेको परिपेक्षमा वर्तमान बीमा बजारको खाडल कायम नै रहने निश्चितःप्राय छ। नेपाल सरकारले बीमा सेवालाई अत्यावश्यक सेवामा वर्गिकरण गरेको र वित्तीय जोखिम न्यूनिकरणका दृष्टिकोणबाट पनि अपरिहार्य देखिएकोले यसमा युवा जनशक्तिको आकर्षण भएको अवस्थामा युवामा यसको प्राविधिक ज्ञान सिक्ने अवसर मिल्न गई बीमा क्षेत्रको आधुनिक विकास, प्रवर्धन तथा प्रविधिमैत्री हुन गई बीमाले फड्को मार्ने कुरामा दुईमत हुन सक्दैन। तसर्थ निर्जीवन बीमा कम्पनीहरूले युवा जनशक्तिलाई बीमा कम्पनीमा आबद्ध गरी ‘अर्न एन्ड लर्न’ (कमाउँदै सिक्ने) कार्यक्रमको मूल अवधारणा सहित उष्मायन केन्द्रको (इन्क्युबेसन सेन्टर) स्थापनाको अपरिहार्यता देखिन्छ।
कमाउँदै सिक्ने कार्यक्रमको मूल अवधारणा भनेको युवालाई अध्ययन र तालिमसँगै मूलत व्यावहारिक कामको अवसर प्रदान गरी उनीहरूको सीप, रोजगारी क्षमता र क्रमश उद्यमशीलता विकास गर्नु नै हो। यस्तो कार्यक्रमले युवाहरूलाई वास्तविक कार्यअनुभवको अनुभवका अतिरिक्त आय आर्जनमा टेवा पुर्याउदै क्रमश पेशागत दक्षता विकास गर्ने सुनौलो अवसर समेत प्रदान गर्छ।
निर्जीवन बीमा उष्मायन केन्द्र स्थापना गरी युवालाई लक्षित ‘अर्न एन्ड लर्न’ कार्यक्रम संचालन गर्नुको सान्दर्भिकता निम्न बुँदाहरूमा स्पष्ट हुन्छ:
१. बीमा क्षेत्रमा दक्ष जनशक्ति विकास
बीमा अत्यन्त प्राविधिक बिषय भएकोले प्राविधिक ज्ञान तथा व्यावसायिक सीप भएका युवा जनशक्तिको विकासका लागि उष्मायन केन्द्रमार्फत युवालाई बीमा बजारीकरण, बीमा जोखिमांकन, पुर्नबीमा व्यवस्थापन, दाबी व्यवस्थापन, जोखिम मूल्यांकन, तथ्यांक विश्लेषण, डिजिटल बीमा सेवा, र ग्राहक सेवा लगायतका विषयमा तालिम दिई दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ।
यस उष्मायन केन्द्रमा युवा जनशक्तिलाई ‘अर्न एन्ड लर्न’ कार्यक्रम मार्फत आबद्ध गर्न सकेमा बीमा क्षेत्रको दीगो एवं आधुनिक रूपान्तरण, विकास र विस्तार सगै दक्ष जनशक्तिको विदेश पलायन रोक्न टेवा पुगी कम्पनीको कर्मचारी उत्ताराधिकारी योजनालाई सशक्त बनाउन सहयोग पुर्याउँछ।
२. ‘अर्न एन्ड लर्न’ मार्फत व्यावहारिक अनुभव
किताबी ज्ञानलाई व्यवहारमा उतारदै यथार्थ जीवनका चुनौतिहरूको सामना गर्न र सही निर्णय लिन व्यवहारिक अनुभवको आवश्यकता हुन्छ। यस कार्यक्रम अन्तर्गत सहभागी युवाले अध्ययनसँगै बीमा कम्पनी वा सम्बन्धित संस्थामा काम गर्ने अवसर पाउँछन्। यसले उनीहरूलाई वास्तविक कार्य अनुभव, बीमा बजारको ज्ञान, आय आर्जन गर्ने अवसर प्रदान गरी उनीहरूको किताबी ज्ञानमा थप स्पष्टता ल्याउछ। यस प्रकारको कार्यक्रमले युवाको रोजगारयोग्यता उल्लेखनीय रूपमा बढाउँछ।
बीमा क्षेत्रको व्यवहारिक अनुभवले ‘के गर्ने’ भन्ने सैद्धान्तिक ज्ञानलाई ‘कसरी गर्ने’ भन्ने व्यवहारिक ज्ञानमा बदल्छ, जुन व्यक्तित्व विकास र रोजगार दुवैका लागि अत्यावश्यक आधारभूत तत्वहरू हुन।
३. युवा उद्यमशीलता प्रवर्द्धन
उष्मायन केन्द्रले युवालाई बीमा क्षेत्रमा आधारित नयाँ व्यवसायिक अवधारणाहरू (इन्स्युरटेक, माइक्रो इन्स्युरेन्स, डिजिटल इन्यस्युरेन्स प्लेटफर्म) विकास गर्न सहयोग पुर्याउँछ। यसले युवालाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने उद्यमी बन्न प्रेरित गर्छ।
बीमा क्षेत्रमा कायम परम्परागत कार्यशैलीलाई रूपान्तरण गरी प्रविधि केन्द्रीत शैली अनुसरण गर्न उष्मायन केन्द्र साधन बन्न सहयोग पुग्नेछ।
४. बीमा सचेतना र वित्तीय साक्षरता विस्तार
नेपालमा अझै पनि बीमा सम्बन्धी जानकारी र सचेतनाको सीमितता छ र बीमा सचेतना र वित्तीय साक्षरताको कमी नै विद्यमान बीमा खाडलको जड हो । युवालाई प्रशिक्षित गरी उनीहरूलाई बीमा दूतका रूपमा परिचालन गर्न सकिन्छ, जसले समुदाय स्तरमा बीमाको आवश्यकतालाई थप उजागर गर्दै बीमाको पहुँच विस्तार गर्न मद्दत गर्छ।
वर्तमान समयमा युवा पुस्ताको सामाजिक संजालमा उच्च सक्रियता रहेको परिप्रेक्ष्यमा सामाजिक संजाललाई प्रभावकारी माध्यमका रूपमा उपयोग गरी बीमा सचेतना तथा वित्तीय साक्षरताको विस्तार गर्न सकिने पर्याप्त सम्भावना रहेको छ।
५. प्रविधि र नवप्रवर्तन प्रवर्धन
प्रविधि केन्द्रीत बीमा अयुवाहरू प्रविधिमा दक्ष हुने भएकाले इन्क्युबेशन केन्द्रमार्फत डिजिटल बीमा, मोबाइल बीमा सेवा, डेटा विश्लेषण तथा ‘इन्स्युरटेक’ समाधान विकास गर्न सकिन्छ। यसले बीमा उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सहयोग गर्छ।
युवा जनशक्तिलाई बीमा क्षेत्रमा आबद्ध गर्न सकेको खण्डमा बीमा कम्पनी र बीमित बीचको दुरीलाई डिजिटल माध्यमबाट जोडी बीमा सेवालाई परिष्कृत एवं थप परिणाममूखी बनाउन सहयोग पुग्नेछ।
६. रोजगारी र आत्मनिर्भरता वृद्धि
नेपालमा युवा बेरोजगारी एक प्रमुख चुनौती हो। यस्तो कार्यक्रमले युवालाई तालिम, इन्टर्नशिप, रोजगारी लगायतका वृति विकास मार्गदर्शन प्रदान गरी उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग गर्छ।
बीमा क्षेत्रमा जोखिम व्यवस्थापन अन्तर्गत रिस्क मोडलिङ, एक्टुरिएल एनालिसिस, रिस्क बेस्ड क्यापिटल, ओन रिस्क एन्ड सल्भेन्सी एसेसमेन्ट जस्ता नविनतम बिषयहरू उपर अवसरहरू सिर्जना भई रहेको सन्दर्भमा युवाहरूको आबद्धता एवं आवश्यकतालाई थप उजागर गर्दछ।
७. बीमा उद्योगको दिगो विकास
उष्मायन केन्द्रमार्फत प्रशिक्षित युवा जनशक्तिले बीमा उद्योगमा नयाँ सोच, नवप्रवर्तन र दक्षता ल्याउँछन्। यसले दीर्घकालीन रूपमा निर्जीवन बीमा क्षेत्रको विकास, विस्तार र प्रतिस्पर्धात्मकता बढाउन मद्दत गर्छ।
अनुभवी कर्मचारी तथा विज्ञहरूबाट बीमा सम्बन्धी ज्ञान, सीप तथा अनुभवलाई संरचित र प्रणालीगत ढंगबाट पुस्तान्तरण गर्न सकेमा नयाँ पुस्ताको बीमा क्षेत्रप्रतिको आकर्षण र सहभागिता अभिवृद्धि भई यस क्षेत्रको आधुनिकीकरण तथा दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ।
तर्सथ ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत युवालाई लक्षित निर्जीवन बीमा उष्मायन केन्द्र स्थापना गर्नु नेपालमा बीमा क्षेत्रमा दक्ष जनशक्ति विकास, युवा उद्यमशीलता प्रवर्धन, वित्तीय साक्षरता विस्तार तथा रोजगारी सिर्जनाका साथसाथै समग्र अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावको लागि अत्यन्त सान्दर्भिक कदम हुने विश्वास गर्दै बीमा उद्योगको आधुनिक विकास, प्रबर्धन, प्रविधिमैत्री तथा दिगो रूपान्तरणको लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास गर्न सकिन्छ।
धौराली सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा कार्यरत छन्।










