आजको मौसम पूर्वानुमान : पहाडी र हिमाली भेगमा वर्षा र हुरीबतासको सम्भावना



बिजमाण्डू
२०८२ चैत्र १३ गते ०७:०७ | Mar 27, 2026
आजको मौसम पूर्वानुमान : पहाडी र हिमाली भेगमा वर्षा र हुरीबतासको सम्भावना

काठमाडौं । नेपालमा पुनः मौसम बदली भई आजदेखि देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास तथा चट्याङ र असिना पर्ने भएको छ।

Tata
GBIME
Nepal Life

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार थप मौसम बदली भई वर्षा गराउने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले साँझबाटै बदली बढेको र शुक्रबारबाट ठाउँठाउँमा वर्षा हुने बताए।

बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ, नुवाकोटलगायत केही ठाउँमा वर्षा भएको र यो क्रम आज रातिदेखि केही बढ्ने बताइएको छ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार शुक्रबार देशको हिमाली भूभागमा आंशिक बादल, पहाडी भूभागमा साधारणतया बादल लाग्ने र सबै प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।

आज दिउँसो देशका हिमाली भागमा अधिकांश बदली, पहाडमा साधारणतया बदली र तराई भेगमा आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

आज राति हिमाली भागमा अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेश लगायत पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुने । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने बाँकी भूभागमा आंशिक बादल लाग्ने तथा कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ। रासस