ऋण लिएर सेयरमा लगानी गर्न सहज, नेप्सेले कार्यान्वयनमा ल्यायो मार्जिन ट्रेडिङ



बिजमाण्डू
२०८२ चैत्र १२ गते १५:३५ | Mar 26, 2026
ऋण लिएर सेयरमा लगानी गर्न सहज, नेप्सेले कार्यान्वयनमा ल्यायो मार्जिन ट्रेडिङ

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले सेयर लगानीकर्ताले ब्रोकरबाट ऋण सुविधा पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्यप्रक्रिया जारी गरेर ब्रोकरबाटै ऋण लिएर सेयर किनबेच गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले लगानीकर्ताले ब्रोकरबाटै ऋण लिएर सेयर किनबेच गर्न सकिने सुविधाका लागि मार्जिन कारोबार सम्बन्धी निर्देशिका जारी गरेपछि नेप्सेले कार्यप्रक्रिया बनाएर कार्यान्वयनमा ल्याएको छ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले सेयर कारोबारीले अब सहजरुपमा ऋण पाउने बताए। ‘ऋण लिएर सेयर किन्नका लागि यसअघि बैंककाे भर पर्नुपर्थ्याे। तर, मार्जिन ट्रेडिङ कार्यान्वयनमा आएपछि लगानीकर्ताले ब्राेकरबाटै ऋण लिन सक्नेछन्,’ पराजुलीले भने, ‘सेयर कारोबारीलाई अब सहज हुनेछ।’

मार्जिन कारोबार सम्बन्धी कार्यविधि नआउँदा ब्रोकरले सेयर कारोबारीलाई ऋण दिन सकेका थिएनन्। नेप्सेले कार्यप्रक्रिया ल्याएसँगै ब्रोकरले लगानीकर्तालाई सेयर कारोबारका लागि ऋण दिएर कारोबार गराउन सक्नेछन्।

लगानीकर्ताले अहिले बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा ऋण लिएर कारोबार गर्दै आएका छन्। मार्जिन कारोबार कार्यप्रक्रिया आएपछि अब ब्रोकरबाटै ऋण लिएर सेयर किनबेचको बाटो खुलेको हो।

कार्यप्रक्रियाले मार्जिन कारोबार खाताको व्यवस्था गरेको छ।

‘मार्जिन कारोबार आएपछि हामीले तत्काल कारोबार सुरु गर्ने गरी काम गरिसकेका छौं। केही बैंकहरु आफैंले बोलाएरै फण्डका लागि एग्रिमेन्ट गरिरहनु भएको छ,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले भने, ‘बजारमा यसले उधारो कारोबार रोक्छ भने लगानीकर्ताका लागि लगानीको नयाँ उपकरण पनि हो।’

ब्रोकरले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर र आफ्नो सेयरधनी वा सञ्चालकसँग सुरक्षण बिनाको ऋण लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेछन्।

ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्न बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण र आफ्नो सेयरधनी वा सञ्चालकसँग लिएको सुरक्षण बिनाको ऋण आफ्नो नेटवर्थको ४.५ गुणाभन्दा बढी हुनु हुँदैन। यस्तै ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको ५ गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछ।

सेबोनबाट नयाँ निर्देशिका आएपछि अरु ब्रोकर पनि मार्जिन ट्रेडिङको तयारीमा लागेका छन्। सेबोनले जारी गरेको मार्जिन कारोबार सम्बन्धी निर्देशिकाले नै मार्जिन कारोबार खाता हुनुपर्ने व्यवस्था गरेको छ। मार्जिन कारोबारका लागि निर्देशिकाले सर्तहरु तोकेको छ।

मार्जिन कारोबारयोग्य हुन कम्तिमा २५ लाख कित्ता सर्वसाधारण सेयर (लकइन भएका सेयर बाहेक) सूचीकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको, आइपीओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने लगायत सर्त छन्।

मार्जिन कारोबार सुविधाका लागि ब्रोकर कम्पनीको पनि योग्यता तोकिएको छ। चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ भएका, राफसाफ सदस्यता प्राप्त गरेका, निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको सेयरधनी रहेका वा सहायक कम्पनीको रुपमा रहेका धितोपत्र दलाल व्यवसायीको मुख्य कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेका ब्रोकरले मात्रै मार्जिन कारोबार गर्न पाउनेछन्।

मार्जिन कारोबार सुविधाको अवधि बढीमा एक वर्षको हुनेछ। तर एक वर्षपछि नवीकरण गर्न मिल्नेछ। निर्देशिकाले नयाँ मार्जिन कारोबारका लागि ब्रोकरले बैंकहरुबाट ऋण लिन सक्ने व्यवस्था गरेको छ।

ग्राहकलाई ऋण दिने ब्रोकरसँग स्रोत नहुँदा यसअघि प्रभावकारी बन्न सकेको थिएन। तर, यसपटक बैंकिङ प्रणालीमा थुप्रिएको तरलता र नयाँ निर्देशिकाले मार्जिन कारोबार प्रभावकारी हुने ब्रोकरहरु बताउँछन्।