काठमाडौं। खाडी मुलुकको तनावले बिटुमिनको आयात ठप्प भएपछि त्यसको असर सडक निर्माणमा देखिन थालेको छ।
खाडीमा देखिएको तनावले आपूर्ति प्रभावित भएका कारण भारतले कच्चा तेलबाट उत्पादन हुने बिटुमिन निर्यात गर्न छोडेपछि सडक कालोपत्रेको काम प्रभावित हुन थालेको हो।
नागढुंगा-मुग्लिन सडकमा बिटुमिन अभावमा कालोपत्रे रोकिने अवस्था आउन लागेको छ। यो सडक विस्तार गरिरहेको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका संचालक रमेश शर्माले कालोपत्रे गर्न बेस तयार पारिएको तर बिटुमिन आउन बन्द भएकाले काम रोकिने अवस्था आएको बताए।
नेपालभर सडक योजनामा काम गर्न वार्षिक १ लाख ५० हजार मेट्रिक टन बिटुमिन आवश्यक पर्छ। शर्माका अनुसार उनको कम्पनीलाई बिटुमिन आपूर्ति गर्ने कम्पनीले १००० मेट्रिक टनका लागि एलसी खोलेकामा भारतीय कम्पनीले फिर्ता गरेको छ।
‘मेरो सप्लायर्सले खोलेको एलसीको ६० लाख आईसी फिर्ता भएको छ। भारतीय कम्पनीले बिटुमिन तत्काल उपलब्ध गराउन नसक्ने जानकारी गराएको सप्लायर्सले बताएको छ,’ शर्माले भने, ‘हामीले सडक कालोपत्रे गर्न बेस तयार पारेका छौं। तर हामीसँग पर्याप्त बिटुमिन छैन। स्टकले पुग्दैन।’

यतिखेर कालोपत्रे गर्ने मुख्य सिजन हो। त्यही कारण धेरैजसो निर्माणाधीन सडक कालोपत्रेका लागि बेस तयार पारेर राखिएको छ। कालोपत्रेका लागि बिटुमिन अनिवार्य चाहिन्छ।
निर्माणाधीन सूर्यविनायक-धुलिखेल सडक कालोपत्रेको काम पनि प्रभावित हुने भएको छ। आयोजना प्रमुख विजय कुमार महतो बिटुमिन अभावले कालोपत्रे गर्ने काम प्रभावित हुने बताउँछन्।
‘भारतबाट बिटुमिन आएको छैन। निर्माण कम्पनीले अहिले स्टकमा रहेको बिटुमिनबाट काम चलाइरहेको छ। स्टकको बिटुमिनले धेरै दिन काम गर्न नसकिने निर्माण कम्पनीले अनौपचारिक रुपमा बताइसकेको छ,’ महतोले भने।
नेपालमा भारतबाट बिटुमिन आयात गर्ने गरिएको छ। भारतले भने ४० प्रतिशत बिटुमिन आयात गरी ६० प्रतिशत आफैं उत्पादन गर्ने गरेको छ। भारतले ४ वटा रिफाइनरीबाट बिटुमिन उत्पादन गर्ने गरेकामा अहिले कच्चा तेलको आयात प्रभावित भएपछि उत्पादन घटाएको छ। भारतले आफूले उत्पादन गर्ने बिटुमिनमध्ये ७ प्रतिशत नेपालमा निर्यात गर्ने गरेको थियो।
बिटुमिन उत्पादक कम्पनी हिन्दुस्थान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपीसीएल)ले नै खाडी क्षेत्रको तनावपछि कच्चा तेलको आयात घटेकाले उत्पादन घटेको जानकारी गराएको छ। एचपीसीएलको नेपालका लागि बिक्रेता एमएडब्लू ग्रुपका बिजनेस हेड अंकुर खनालले उत्पादन घटेकै कारण अहिले बिटुमिनको आयात रोकिएको बताए।
‘हामीलाई होलीदेखि नै बिटुमिन दिन कम गरेको थियो। अहिले युद्धका कारण क्रुड आयलको आयात कम भएपछि कम्पनीले बिटुमिनको निर्यात नै बन्द गरेको छ। एचपीसीएलले अब कहिले एलसी खोल्न भन्छ? थाहा छैन,’ खनालले भने।
बिटुमिन खपत हुने मुख्य सिजन फागुन, चैत र वैशाख हो। सिजनमै आयात रोकिएका कारण व्यापारमा ठूलो धक्का पुगेको छ।
‘सिजनमा बिटुमिन बिक्री गर्न नपाउदा हामीलाई गार्हो भइरहेको छ। भारत र नेपालमा बिटुमिन प्रयोग हुने एउटै सिजन हो,’ खनालले भने, ‘अहिले उनीहरुलाई आवश्यक पर्ने बिटुमिन नभएकाले नेपाललाई दिन बन्द गरेका हुन्। सिजनमै आयात बन्द हुँदा हाम्रो व्यापारमा धक्का लागेको छ।’
अहिले बिटुमिनको मूल्य समेत महँगिएको छ। यसअघि प्रति केजी ९४ रुपैयाँमा पाइने बिटुमिनको भाउ अहिले १३० रुपैयाँ पुर्याइएको छ।

सडक विभागका उपमहानिर्देशक श्याम बहादुर खड्काले कालोपत्रे गर्ने मुख्य सिजनमा बिटुमिन अभाव र मूल्यवृद्धिले समस्या खडा गरेको बताए। ‘अहिले सडक कालोपत्रे गर्ने मुख्य सिजन हो। तर यही बेला बिटुमिन अभाव भएको छ। अहिले स्टक हुनेले मात्र कालोपत्रे गरिरहेका छन्,’ खड्काले भने, ‘बिटुमिनको अभाव र मूल्यवृद्धिले ठूलो समस्या हुने देखिन्छ।’
खड्काले बिटुमिन अभावले राजमार्गहरुमा नियमित मर्मत सम्भारको काम पनि प्रभावित हुने बताए। निर्माण व्यवसायीले बिटुमिन लगायत अन्य निर्माण सामग्रीको भाउ बढेका कारण कन्स्ट्रक्सन होलिडे घोषणा गर्न सरकारसँग यसअघि नै माग गरिसकेका छन्।










