काठमाडौं। सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा पनि कारोबार रकम उत्साहजनक छ। पाँच कम्पनीको सेयर मूल्य बढेर पोजेटिभ सर्किट लागेको छ। नेप्से परिसूचक बुधबार २४.४५ अंक घटेर २९३५.९४ विन्दुमा आएको छ।
कारोबारमा आएका उत्पादन तथा प्रशोधन र व्यापार बाहेकका सबै उपसमूह घट्दा बजार सूचकमा गिरावट आएको हो। विकास बैंकको सूचक सबैभन्दा धेरै २.३२ प्रतिशत घटेको छ भने फाइनान्स उपसमूह २.०९ प्रतिशतले घटेको छ।
बजारमा ४५ कम्पनीको सेयर मूल्य बढेको छ। ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रो, भुजुङ हाइड्रो र होटल फरेस्ट इनको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस्तै पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ९.७७ प्रतिशतले बढेको छ।
सूचक घटे पनि बुधबार कारोबार बढेको छ। बजारमा १५ अर्ब ९ करोड ४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
२१३ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर छ। अभियान लघुवित्तको सेयर भाउ सबैभन्दा धेरै ७.७४ प्रतिशत ओरालो लागेको छ।
बजारमा कारोबारमा ङादी ग्रुप पावर पहिलो बनेको छ। उक्त क्मपनीको सबैभन्दा धेरै ५२ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, अपी पावरको ५१ करोड ९६ लाख रुपैयाँ र शिवम् सिमेन्टको ४७ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ।










