काठमाडौं । ‘छिटो पैसा’ नामको डिजिटल वालेटमा लिङ ब्रिज म्यानेजमेन्ट कम्पनीले खोलेको खाताबाट अनधिकृत व्यक्तिले रकम झिकेको फेला परेको छ। सो वालेटबाट एक करोड रुपैयाँ भन्दा बढी रकम झिकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा वालेट खाताबाट विभिन्न मितिमा ६४ जना भन्दा बढी मानिसको संलग्नतामा रकम झिकेको देखिएको छ।
छिटो पैसा मार्फत सेवा लिइरहेको अवस्थामा सन् २०२५ मार्च १९ देखि २०२५ मार्च २१ सम्म समूहले वालेटमा खोलिएको कर्पोरेट खाता नम्बरमा अनधिकृत रुपमा पहुँच पुर्याई सुरज श्रेष्ठ, रुद्र पोखेल, सावन चौधरी, अनोज कार्की, निश्चल चौधरी, शिवजी माझी, मो. फैजल प्रवेज, अनीश चौधरी, आयुष श्रेष्ठ र मो. इकवाल अन्सारीको बैंक खातामा विभिन्न मिति र समयमा पटक पटक गरि १ करोड ४९ हजार ९९७ रुपैयाँ रकमान्तर गरि ठगी गरिएको देखिएको छ।
उनीहरुले त्यसपछि व्यक्तिको नाममा विभिन्न बैंकहरुमा रहेको बैंक खाता तथा वालेटमा समेत रकमान्तर गरेका थिए।
प्रहरीले प्रतिवादी बनाइएका अधिकांशको बैंक खाता यो घटनामा प्रयोग भएको छ। उनीहरुले चिनेजानेको साथीभाइले बैंक खाता मागेकाले दिएको प्रहरीमा बयान दिएका छन्। केहीले उनीहरुको क्यु आर प्रयोग गरेर समेत रकम अर्को खातामा पठाएको देखिएको छ।
पछिल्लो समय प्रविधिको दुरुपयोग गरेर ठगी गर्न क्रम बढेको छ। त्यसैले प्रहरीले अपरिचित व्यक्तिलाई आफ्नो खाताबाट कारोबार गर्न दिने, खाता खोलेर प्रयोग गर्न दिने जस्ता कार्य नगर्न समेत अनुरोध गरेको छ।










