इन्धन संकटको मारमा व्यवसायी : भारतमा बन्न छाड्यो समोसा, चियाको स्वाद रहेन पहिला जस्तै!



बिजमाण्डू
२०८२ चैत्र ४ गते १३:१२ | Mar 18, 2026
इन्धन संकटको मारमा व्यवसायी : भारतमा बन्न छाड्यो समोसा, चियाको स्वाद रहेन पहिला जस्तै!
यो तस्विर जेमिनी एआईबाट बनाइएको हो।


इरानले अमेरिका र इजरायलको आक्रमणपछि इन्धन ओसारपसरका लागि अहम मानिएको हर्मुज जलमार्गमा कडाइ गरेपछि विश्वभर इन्ध संकटको चिन्ता बढिरहेको छ। यसको प्रभाव भारतमा त्यहाँका रेस्टुरेन्टदेखि सडक किनारमा संचालन हुने गरेको स्ट्रीट फुड व्यवसायमा पनि परेको छ।

Tata
GBIME
Nepal Life

अहिले रेष्टुरेन्ट र स्ट्रीट फुडको मेनुबाट समोसा जस्ता बाह्रै मास पाक्ने परिकार हट्न थालेको छ। चियाको स्वाद पनि पहिले जस्तो नरहेको गुनासो बढेको सीएनएनको एक रिपोर्टमा उल्लेख छ।

विश्वकै तीव्र गतिमा बढ्दो अर्थतन्त्रहरुमध्ये एक भारतले आफूलाई चाहिने करिब ८५ प्रतिशत एलपीजी खाडी क्षेत्रबाट आयात गर्दै आएको छ। यसको ठूलो हिस्सा खाना पकाउन प्रयोग हुन्छ।

अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको आक्रमणपछि चलिरहेको द्वन्द्वका कारण भारतमा पनि इन्धन आपूर्ति प्रभावित भएको छ। यद्यपि, हर्मुजबाट दुईवटा ग्यास बोकेको पानीजहाज भने छुटाउन भारत सफल भएको छ। कूटनीतिक माध्यमबाट इरानसँग छलफल गरेर भारतले ग्यास ल्याएको हो। इन्धन आपूर्तिका लागि पनि भारत कूटनीतिक प्रयासमा छ। तर, युद्ध लम्बिए त्यो सहजता पनि नरहन सक्छ।

त्यस्तै, भारत सरकारले ग्यासको सवालमा औद्योगिक प्रयोगकर्ताभन्दा घरायसी प्रयोगलाई प्राथमिकता दिन थालेको छ। क्यान्टिन, होटल र रेस्टुरेन्टले पाउने ग्यास संख्या न्यून छ।

जसकारण धेरै व्यवसायीहरुले वैकल्पिक उपाय अपनाउन थालेका छन्। केही व्यवसायीले इन्डक्सन चुलो प्रयोग गर्न थालेका छन्। तर, परम्परागत भारतीय खानाको लागि यो उपाय उपयुक्त नभएको उनीहरुको भनाइ छ।

भारतीय खानाको विशेषता उच्च ताप, फलामको भारी भाँडो र खुला आगोमा पकाउने शैली हो। ग्यासको अभावमा करीको स्वाद घट्ने, तन्दुरी परिकार राम्ररी पोलिन नसक्ने र समोसा जस्ता परिकार राम्रोसँग पाक्न नसक्ने समस्या देखिएको सिएनएनको रिपोर्टमा उल्लेख छ।

जयपुरस्थित लोकप्रिय रेस्टुरेन्ट गुलाबजी चायका संचालक चेतन सिंहका अनुसार एलपीजी अभावका कारण उनीहरुले बन बटर र समोसा जस्ता मुख्य परिकार आफ्नो मेनुबाट हटाउनु परेको छ।

उनले भने, ‘मानिसहरु यही खानाका लागि लाइन लाग्थे। जयपुर आउने अधिकांश यहाँ आउने गर्छन्। तर उनीहरु अहिले निराश छन्।’

ग्यास नहुँदा चिया बनाउने तरिका पनि व्यवसायीले परिवर्तन गर्नुपरेको छ। जसको सिधा असर चियाको स्वादमा परेको छ।

‘इन्डक्सनमा बनाएको चियामा पहिले जस्तो स्वाद आउँदैन। ग्यासमा धेरैबेर पकाएर आउने फ्लेवर यसमा आइरहेको छैन,’ उनले भनेका छन्।

भारत सरकारले एलपीजी अभाव कम गर्न रिफाइनरीबाट उत्पादन करिब ३८ प्रतिशत बढाएको जनाएको छ। साथै, कालोबजारी र भण्डारण नियन्त्रण गर्न देशभर छापा मारेर १५ हजारभन्दा बढी सिलिन्डर जफत गरिसकेको छ।

तर, यो संकटले स्ट्रीट फुड र फास्ट फुड व्यवसाय भने प्रत्यक्ष रुपमा प्रभावित पारेको छ। ‘बेन्ने डोसा’ रेस्टुरेन्टका संचालक अखिल अय्यरले इन्धन संकटले व्यवसाय चलाउन वैकल्पिक उपाय अपनाउनु परेको बताएका छन्। सबैभन्दा ठूलो मारमा परेको छ उनको व्यवसायको स्टार परिकार ‘डोसा’।

‘इडलीका साथै केही फ्राइ गर्न मिल्ने परिकारहरु इन्डक्सनमा बनाइरहेका छौं। तर डोसा भने त्यसरी बनाउन सकिँदैन। डोसाका लागि खुला आगो र उच्च ताप आवश्यक हुन्छ। हामीले इन्डक्सनमा डोसा बनाउने प्रयास गर्‍यौं। तर त्यो राम्रो भएन,’ उनले भने।

मुंबईस्थित बेन्ने डोसाको शाखामा ग्यास अभावका कारण डोसा बेच्नै बन्द गरिएको छ। दिल्लीमा सीमित रुपमा मात्र ग्यास प्रयोग भइरहेको छ।

अय्यरले संकट जस्तो आए पनि डोसा कहिल्यै स्थायी रुपमा मेनुबाट नहटाउने बताएका छन्।

भारत सरकारले अहिले आन्तरिक आपूर्ति व्यवस्थापनमा ध्यान दिइरहेको छ। सरकारले ग्याससँगै पेट्रोल र डिजेलको मूल्य बढाएको छैन। तर पनि विभिन्न सहरमा मानिसहरु ग्यास सिलिन्डरका लागि बिहानैदेखि लाइन बस्न थालेका छन्। युद्ध लम्बिने संकेतका कारण मानिसहरु आउने दिनमा ग्यास आपूर्ति थप चुनौतीपूर्ण बन्ने भन्दै सतर्क हुन थालेको बताइन्छ।

ऊर्जा संकटको त्रासबीच भारतमा सर्वसाधारण पनि इन्डक्सन चुलो खरिद गर्न हौसिएका छन्। अमेजन इन्डियाबाट इन्डक्सन चुलोको बिक्री ३० गुणाभन्दा बढीले बढेको छ।

संकट लम्बिएमा काठ जस्ता परम्परागत शैली प्रयोग गर्ने विकल्प पनि विचार भइरहेको छ।