विराटनगर। प्लास्टिकजन्य प्याकेजिङ सामग्रीको मूल्य दुई हप्ताभित्रै ५० प्रतिशतसम्म वृद्धि भएको छ।
पश्चिम एसियामा भइरहेको लडाइँका कारण क्रुड पेट्रोलियम र प्लास्टिक दानाको ढुवानी अवरूद्ध भएपछि प्याकेजिङ सामग्रीको मूल्यमा ५० प्रतिशतसम्म वृद्धि भएको हो। मूल्य वृद्धिले खाद्यान्न र एफएमसीजीदेखि औषधि उद्योगसम्मलाई असर पारेको छ।
इरानले पश्चिम एसियाको चल्तीको समुद्री मार्ग स्ट्रेट अफ हर्मुजलाई अमेरिका र इजरायलबाहेक अन्य मुलुकका लागि खुला गरे पनि त्यहाँ आक्रमणको सम्भावना टरेको छैन। त्यसैले यस मार्गबाट हुने ढुवानीको अनिश्चय र अन्योल अझै कायमै छ।
यद्यपि भारत आउँदै गरेका एलपीजीका ट्यांकरहरू यस मार्गबाट ढुवानी भइरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रकाशित गरेका छन्। यद्यपी सम्भावित जोखिमलाई दृष्टिगत गर्दै धेरै जहाज कम्पनी यस मार्गको प्रयोग गर्न अझै हिच्किचाइरहेका छन्।
प्याकेजिङ सामग्रीको एक ठूलो उद्योग पशुपति प्लास्टिकका सञ्चालक वीरेन्द्र राठीले आफूले प्रयोग गर्ने प्लास्टिक दानाको मूल्य पश्चिम एसियाको युद्धयता टनको ५०० डलरले वृद्धि भएको र ढुवानीको समस्याले उपलब्धताको संकट रहेको बताए।
उनका अनुसार पश्चिम एसियास्थित दानाका आपूर्तिकर्ताले पहिले खुलेको एलसी पनि होल्ड गरेर राखेका छन्।
‘सप्लायरले एलसी नै होल्ड गरिदिएपछि न सामान आउँछ, न क्यान्सिल हुन्छ। यसबाट अर्को अप्ठ्यारो परेको छ– त्यो हो बैंकमा भएको ऋणको लिमिट पनि ब्लक भएको छ। यसरी उद्योगीहरू धेरैतिरबाट मुस्किलमा परिरहेका छन्,’ राठीले भने।
राठीले आफूले प्रयोग गर्ने दानालाई पश्चिम एसियाका आपूर्तिकर्ताले प्रति किलो १.२ बाट १.७ डलर भनिरहेको जानकारी दिँदै यस हिसाबले टनमा ५०० डलर वृद्धि भएको उल्लेख गरे।
उनले नेपालमा भन्सार महसुल लगायत राजस्व तिरेर दाना भित्रिंदा किलोको ९५ देखि १०० रुपैयाँसम्म वृद्धि हुने हिसाब सुनाए। ‘हरेक दिन मूल्य वृद्धि भएको खबर आउँछ। तर सामान कहिले हिँड्छ र कहिले आइपुग्छ त्यसको खबर हुँदैन,’ उनले भने।
पूर्वको अर्को प्याकेजिङ उद्योग कृष्णा फेब्रिकेटर्सका सञ्चालक सन्तोष अटलले प्याकेजिङ सामग्रीको मूल्यमा २ हप्तामा ५० प्रतिशतले वृद्धि भइसकेको बताए।
‘आपूर्तिकर्ताले पहिलेका एलसी नै होल्ड गरेर राखेका छन्। मेसम्म कुरै नगर भन्छन्। नयाँ अर्डर त बन्द नै भइसकेको छ। त्यहाँका सप्लायरले मेदेखि मात्र सामान पठाउने हो भने यस बिचमा यहाँ कहिल्यै नभएको संकट आइसक्छ,’ उनले भने।
रमपम र टुपिएम चाउचाउको उत्पादक एसियन थाई फुड्सका निर्देशक महेश जाजूले प्याकेजिङ सामग्रीको मूल्य वृद्धिले सबै प्रकारका एफएमसीजीको उत्पादन र कारोबारलाई असर गरेको बताए।
जाजूले आफूले किलोको ३२५ रुपैयाँमा खरिद गरिरहेको प्याकिङ सामग्रीलाई अहिले ४५० तिरिरहेको जानकारी दिए। ‘त्यो पनि भनेका बेला पाइँदैन। हरेक पटकको सम्वादमा मूल्य वृद्धिको सूचना मात्र हुन्छ,’ जाजूले भने।
देशको एक मुख्य ओखती उद्योग लोमस फर्मास्युटिकल्सले प्लास्टिकजन्य प्याकेजिङ सामग्री र ढुवानीमा भएको मूल्य वृद्धिले औषधि उद्योग संकटमा परेको बताएको छ।
उद्योगका सञ्चालक प्रबलजंग पाण्डेले औषधि उद्योगलाई पीभीसी रोल र झोल औषधीका लागि पेट बोतलजस्ता प्लास्टिकजन्य सामग्री आवश्यक पर्नेमा ५० प्रतिशत मूल्य बढ्दा पनि सजिलै पाइन छोडेको बताए।
‘यस्तै संकटमा उद्योग चलाइरहेका छौं। अब के गर्ने, प्याकिङ सामग्री पाइयो भने उद्योग चलाउँला नभए त कसरी चलाउनु र?’, उनले भने।
मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष एवम् विशाल मैदा मिल्सका सञ्चालक विकास बेगवानीले प्लास्टिकजन्य प्याकिङ सामग्रीको मृल्य वृद्धिले सबै प्रकारका खाद्यान्नलाई असर गरेको बताए।
सबै प्रकारका खाद्यान्नको प्याकिङ प्लास्टिककै सामग्रीमा हुने गरेको छ। कुनै उद्योगले जुटको बोरा प्रयोग गरे पनि त्यसको अंश नगण्य छ। बेगबानीको उद्योगले भ्याट र अन्तःशुल्कसहित किलोको २१५ रुपैयाँमा खरिद गरिरहेको प्याकिङ सामग्रीलाई अहिले ३७५ रुपैयाँ तिरिरहेको छ।
‘प्लास्टिकजन्य प्याकिङ सामग्रीको अभाव र मूल्य वृद्धिले सबै प्रकारका उद्योग पीडित भइरहेका छन्। यो अवस्था कहिलेसम्म हो कुनै उत्तर छैन,’ उनले भने।










