अमेरिकाको अधिकांश क्षेत्रमा आइतबार बिहान २ बजे घडी एक घण्टा अगाडि सारिनेछ। यसले दिनलाई २३ घण्टाको बनाउँछ, जसले मानिसहरूको निद्रा तालिका बिगार्छ। बिहान सबेरै कुकुर घुमाउन निस्कनेहरू अँध्यारोमा पर्छन् र थुप्रै गुनासाहरू जन्माउँछ।
जनमत सर्वेक्षणहरूले अधिकांश मानिस वर्षमा दुई पटक घडी परिवर्तन गर्ने प्रणाली मन पराउँदैनन् भन्ने देखाए पनि यसलाई परिवर्तन गर्न आवश्यक राजनीतिक निर्णयहरू सफल हुन सकेका छैनन्। यसको कारण भनेको यस विषयमा मतहरू र सम्भावित प्रभावबारे धारणा निकै विभाजित हुनु हो।
यदि डे-लाइट सेभिङ टाइम (घडी अगाडि सार्ने समय) स्थायी बनाइयो भने जाडो महिनामा डेट्रोइटमा केही समयका लागि बिहान करिब ९ बजे मात्रै घाम उदाउनेछ। तर यदि वर्षभरि स्ट्यान्डर्ड टाइम कायम गरियो भने जुन महिनामा सियाटलमा बिहान ४:११ बजे नै सूर्योदय हुनेछ।
‘सूर्यलाई हाम्रो इच्छाअनुसार सार्ने कुनै कानुन बनाउन सकिँदैन,’ स्थायी स्ट्यान्डर्ड टाइमको पक्षमा काम गर्ने संस्था सेभ स्ट्यान्डर्ड टाइमका अध्यक्ष जे पीया भन्छन्।
घुमिरहने ग्रहमा घडी मिलाउनु जटिल
न्यूयोर्कमा बस्ने ४१ वर्षीया स्वास्थ्यकर्मी जेनी लरेन हिउँदका महिनामा सूर्योदय र सूर्यास्तको समय ध्यानपूर्वक हेरिरहन्छिन्। घाम अलि ढिलो उदाएपछि मात्रै कामपछि घरबाहिर निस्केर केही गर्न मन लाग्छ—जस्तै सिनेमा हेर्न जानु।
उनको भनाइमा, ‘वर्षको अधिकांश समय हामी डे-लाइट सेभिङ टाइममै हुन्छौँ। आखिर हामी यो किन गरिरहेका छौँ?’
अमेरिकामा सन् १८८३ मा रेल सेवाले समय क्षेत्र (टाइम जोन) मानकीकरण गरेपछि समय व्यवस्थामा पटक–पटक परिवर्तन गरिँदै आएको छ। विश्वका धेरै देशहरूले पनि यस्तो प्रयोग गरेका छन्। करिब १४० देशले कुनै समय डे–लाइट सेभिङ टाइम अपनाएका थिए, तर अहिले करिब आधा देशले मात्र यसलाई प्रयोग गर्छन्।
गत वर्ष गरिएको सर्वेक्षणअनुसार करिब १० प्रतिशत अमेरिकी वयस्क मात्र वर्षमा दुई पटक घडी परिवर्तन गर्ने अहिलेको प्रणालीको पक्षमा छन्। करिब आधा मानिस यसको विरोधमा छन् भने ४० प्रतिशतले स्पष्ट धारणा व्यक्त गरेका छैनन्। यदि विकल्प रोज्नुपरेमा अधिकांश अमेरिकीले वर्षभरि डे–लाइट सेभिङ टाइम कायम गर्ने विकल्प रोज्ने बताएका छन्।
नीति निर्माणकर्ताका लागि दुविधा
सन् २०१८ यता अमेरिकाका १९ राज्यहरूले स्थायी डे-लाइट सेभिङ टाइम लागू गर्ने कानुन पारित गरेका छन्। तर यसको एउटा सर्त छ—यसका लागि संघीय संसदले पनि अनुमति दिनुपर्छ।
यसअघि दोस्रो विश्वयुद्धका बेला र सन् १९७४ मा केही समयका लागि अमेरिकाभर स्थायी डे-लाइट सेभिङ टाइम लागू गरिएको थियो।
सन् २०२२ मा अमेरिकी सिनेटले स्थायी डे-लाइट सेभिङ टाइम लागू गर्ने विधेयक पारित गरेको थियो। तर प्रतिनिधिसभामा भने त्यसबारे मतदान नै भएको छैन।
अलाबामाका रिपब्लिकन सांसद माइक रोजर्सले प्रत्येक कार्यकालमा यस्तो विधेयक ल्याउने गरेका छन्। उनका अनुसार उड्डयन उद्योगले समय तालिका जटिल हुने भन्दै यस्तो परिवर्तनको विरोध गरेको छ।
फ्लोरिडाका सांसद ग्रेग स्ट्युब भने अर्को उपाय प्रस्ताव गर्छन्।
उनले भने, ‘किन बीचको बाटो नलिने? घडीलाई ३० मिनेट मात्र सारेर दुवै समयको बीचमा राखौँ।’
उनका अनुसार यसले अमेरिकालाई विश्वका धेरै देशसँग समय मिलाउन कठिन बनाउन सक्छ। तर भारतले पनि यस्तै मध्यवर्ती समय प्रयोग गरेको छ, र नेपाल भारतभन्दा १५ मिनेट अगाडि छ।
स्वास्थ्य विज्ञहरू बिहानको उज्यालो चाहन्छन्
न्युरोलोजीकी प्राध्यापक तथा सेभ स्ट्यान्डर्ड टाइम अभियानकी उपाध्यक्ष करिन जोन्सनका अनुसार वर्षभरि स्ट्यान्डर्ड टाइम कायम गर्नु स्वास्थ्यका दृष्टिले राम्रो हुन्छ।
उनले भनिन्, ‘बिहानको घामले हाम्रो दैनिक जैविक घडी (सर्केडियन रिदम) मिलाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छ।’ कोलोराडो विश्वविद्यालयका निद्रा र जैविक घडी अनुसन्धान प्रयोगशालाका निर्देशक केनेथ राइटका अनुसार घडी अगाडि सार्ने दिनपछि केही दिनसम्म घातक सवारी दुर्घटना, हृदयाघात र स्ट्रोकको जोखिम बढ्छ।
उनले भने, ‘स्वास्थ्य र सुरक्षाका आधारमा अहिलेको अवस्थामा स्थायी स्ट्यान्डर्ड टाइम नै उत्तम विकल्प हो।”
परिवर्तनका बाटोमा अवरोध
हाल अमेरिकामा एरिजोना (नाभाजो नेसन क्षेत्रबाहेक) र हवाई राज्यले मात्रै डे–लाइट सेभिङ टाइम प्रयोग गर्दैनन्।
पछिल्ला दुई वर्षमा केही राज्यहरूले स्थायी स्ट्यान्डर्ड टाइम लागू गर्ने विधेयक अघि बढाएका छन्। तर तीमध्ये धेरैले छिमेकी राज्यहरूले पनि त्यही निर्णय गरेपछि मात्र लागू गर्ने सर्त राखेका छन्।
उदाहरणका लागि, भर्जिनियाले मेरील्यान्ड र वाशिङ्टन डीसीले पनि यस्तो निर्णय गरेमा मात्र स्ट्यान्डर्ड टाइम लागू गर्ने प्रस्ताव राखेको छ। यसले प्रसारण उद्योगजस्ता क्षेत्रमा हुने समय तालिकाको अन्योल केही हदसम्म कम गर्न सक्छ।
तर गोल्फ उद्योग भने पूर्ण स्ट्यान्डर्ड टाइमको विरोधमा छ, किनकि यसले साँझ खेल्ने समय घटाउने उनीहरूको तर्क छ।
राज्यलाई निर्णय गर्ने अधिकार दिने प्रस्ताव
कोलोराडोका स्कट येट्सले ‘लक द क्लक’ नामक वेबसाइट सञ्चालन गर्छन्। उनका अनुसार संघीय सरकारले दुई वर्षभित्र वर्षमा दुई पटक घडी परिवर्तन गर्ने व्यवस्था अन्त्य गर्ने कानुन बनाउनुपर्छ।
उनको प्रस्तावअनुसार त्यसपछि प्रत्येक राज्यले डे–लाइट सेभिङ टाइम वा स्ट्यान्डर्ड टाइममध्ये एउटा स्थायी रूपमा अपनाउनुपर्नेछ।
तर जबसम्म घडी परिवर्तनको व्यवस्था जारी रहन्छ, येट्सको सल्लाह यस्तो छ- ‘यदि तपाईं हाकिम हुनुहुन्छ भने सोमबार कर्मचारीलाई एक घण्टा ढिलो आउन भन्नुहोस्। र, यदि हाकिम होइन भने पनि हाकिमलाई त्यही सुझाव दिनुहोस्। सुरक्षाका लागि अलि बढी सुत्नु राम्रो हुन्छ।'(एपी)










