दुई उम्मेदवार पक्राउ, पर्सामा गाडीमा शंकास्पद वस्तु र सिरहामा नगदसहित नियन्त्रणमा



बिजमाण्डू
२०८२ फागुन २० गते ११:३९ | Mar 4, 2026
दुई उम्मेदवार पक्राउ, पर्सामा गाडीमा शंकास्पद वस्तु र सिरहामा नगदसहित नियन्त्रणमा


काठमाडौं। पर्सा र सिरहाबाट दुई उम्मेदवार पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा-२ का नेकपा उम्मेदवार मनोजकुमार चौधरी र सिरहा-३ का जसपा उम्मेदवार अशेश्वर यादव छन्। उनीहरुसहित पाँच जना नियन्त्रणमा लिइएकाो प्रहरीले जनाएको छ।

Tata
GBIME

वीरगंजमा प्रहरीले शंकास्पद वस्तुका साथ उम्मेदवार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ। पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार शंकास्पद वस्तुसहित पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा ४६ वर्षीय उम्मेदवार चौधरी, बाराको प्रसौनी-४ का सहाब आलम अन्सारी, धनुषाको धनुषाधाम-४ का सुरज कार्की र पर्सागढी नगरपालिका–३ का सत्यनारायण थारू छन्।

पर्साको हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा१०च १२५० नम्बरको गाडी जाँच गर्दा डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्सामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, वीरगन्ज–१६ इनर्वागाउँमा विशेष सूचनाका आधारमा निर्वाचन लक्षित संयुक्त सुरक्षा टोलीले नौ थान सुतली बम, एउटा सुँगुरको टाउको र १० मिटर वाइरिङ तारसहित तीन जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

यस्तै, जनता समाजवादी पार्टी नेपालका सिरहा-३ का उम्मेदवार अशेश्वर यादव गैरकानुनी गतिविधि गरेको आरोपमा पक्राउ परेका छन्। निर्वाचनको मौन अवधिमा उनी नगदसहित पक्राउ परेका हुन्। यादवलाई नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालका अनुसार राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका सबैलाई थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यादव तत्कालीन संघीय समाजवादी फोरमबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए। निर्वाचनको मौन अवधिमा उम्मेदवारहरू पक्राउ परेपछि सम्बन्धित जिल्लामा सुरक्षा सतर्कता थप कडा पारिएको प्रहरीले जनाएको छ।