काठमाडौं। इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि सुनचाँदीको भाउ महँगिएको छ। अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपाली बजारमा सुनचाँदी महँगिन पुगेको छ।
सुनको भाउ आइतबार तोलामा ५ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य प्रति तोला २४५ रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला ३ लाख २० हजार ५०० रुपैयाँ निर्धारण भएको छ। सुन शुक्रबार प्रति तोला ३ लाख १४ हजार ९०० रुपैयाँका दरले किनबेच भएको थियो।
चाँदीको मूल्य प्रति तोला ५ हजार ९८५ रुपैयाँ पुगेको छ। चाँदी शुक्रबार प्रति तोला ५ हजार ७४० रुपैयाँका दरले किनबेच भएको थियो।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ५२७८.१ डलर र चाँदीको भाउ प्रति औंस ९३.७२ डलर पुगेको छ।










