क्याम्ब्रिज, म्यासाचुसेट्स। सुनोका प्रमुख कार्यकारी अधिकृत माइकी शुल्मन आफ्नो एआइ कम्पनीको रेकर्डिङ स्टुडियोको डेस्क छेउमा कुर्सी तानेर बस्छन्। त्यहाँ एक अनुसन्धान वैज्ञानिक नयाँ गीत सिर्जना गरिरहेका छन्।
बाँसुरीको धुन आशाजनक सुनिन्छ। तालवाद्यमा भने अझै केही सुधार आवश्यक छ।
तर उनीहरू मध्ये कसैले पनि कुनै बाजा बजाइरहेका छैनन्। उनीहरू कम्प्युटरमा केही शब्द टाइप गर्छन् – अफ्रोबिट, बाँसुरी, ड्रम्स, ९० बीट्स प्रति मिनेट। अनि केही क्षणमै एउटा आकर्षक लय तयार हुन्छ, जसले १९औँ शताब्दीको कार्यालय भवनलाई जीवन्त बनाइदिन्छ। त्यसपछि उनीहरूले सम्पादन उपकरण प्रयोग गरेर नयाँ ट्र्याकलाई अझ परिष्कृत गर्छन्।
सुनो वा यसको प्रतिस्पर्धी उडिओ जस्ता प्लेटफर्ममा एआईबाट गीत बनाउन प्रयास गर्दा प्रारम्भिक अनुभव केही हदसम्म जादूजस्तै लाग्न सक्छ—जसरी पहिलोपटक च्याटजीपीटी वा फोटो बनाइदिने एआई टुल्स प्रयोग गर्दा महसुस हुन्छ। संसारका प्रायः कुनै पनि सांगीतिक परम्पराबाट प्रेरित नयाँ धुन सिर्जना गर्न न त विशेष सांगीतिक सीप चाहिन्छ, न वर्षौंको अभ्यास, न त भावनात्मक प्रेरणाको स्रोत।
तर विगत र वर्तमानका प्रिय संगीतकारहरूको कृतिमा आधारित डाटा प्रयोग गरेर एआईलाई तालिम दिई उनीहरूको शैली नजिकका कृत्रिम गीत उत्पादन गर्ने प्रक्रियाले संगीत उद्योगलाई आक्रोशित बनाएको छ। यस विषयमा दुवै स्टार्टअपविरुद्ध कानुनी कारबाहीसमेत अघि बढाइएको छ।
हाल प्रयोगकर्ताहरूले लाखौं एआई-निर्मित गीतहरू इन्टरनेटमा अपलोड गरिसकेका छन्, जसमध्ये केही त स्पोटिफाइ जस्ता स्ट्रिमिङ सेवामा समेत पुगेका छन्। यस्तो अवस्थामा सुनो र न्यूयोर्कस्थित उडियोका नेतृत्वकर्ता संगीत उद्योगसँग सहकार्य गर्दै यस क्षेत्रमा आफ्नो स्थान सुरक्षित गर्न वार्तामा जुटेका छन्।
‘संगीत उद्योगसँग सहकार्य गरेर मात्र यो काम सम्भव छ भन्ने हाम्रो सधैं धारणा रह्यो,’ सन् २०२२ मा सुनो स्थापनाका सहयोगी शुल्मनले भने, ‘संगीत सांस्कृतिक रूपमा यति महत्त्वपूर्ण छ कि एआईको संसार र गैर-एआई संसार छुट्टाछुट्टै हुनु उपयुक्त हुँदैन।’
सन् २०२४ मा सोमी म्युजिक, युनिभर्सल म्युजिक ग्रुप र वार्नर रेकर्डस्ले दुवै स्टार्टअपविरुद्ध कपीराइट उल्लंघनको मुद्दा दायर गरे। उनीहरूको आरोप थियो कि ती कम्पनीहरूले आफ्ना कलाकारका रेकर्ड गरिएका कृतिको दुरुपयोग गरेका छन्।
त्यसपछि यी कम्पनीहरूले उद्योगसँग मेलमिलापको प्रयास थाले। हाल २.४५ अर्ब डलर मूल्यांकन प्राप्त सुनोले गत वर्ष वार्नरसँग सहमति गरिसकेको छ। उडियोले वार्नर, युनिभर्सल तथा स्वतन्त्र लेबल मेरलिनसँग लाइसेन्स सम्झौता गरेको छ। तर सोनीले भने हालसम्म कुनै सहमति नगरेको अवस्थामा बोस्टन र न्यूयोर्कका संघीय अदालतमा मुद्दा अघि बढिरहेको छ। सुनोविरुद्ध युरोपमा पनि संगीत सर्जकहरूको प्रतिनिधित्व गर्ने समूहले कानुनी चुनौती दिएका छन्।
उडियो र युनिभर्सलबीचको प्रारम्भिक सहमतिपछि उडियोका केही प्रयोगकर्ता असन्तुष्ट बने, किनकि उनीहरूलाई आफ्नै एआई-निर्मित गीत डाउनलोड गर्न रोक लगाइएको थियो। तर उडियोका प्रमुख कार्यकारी अधिकृत एन्ड्र्यु सान्चेज भविष्यप्रति आशावादी छन्। उनका अनुसार, कम्पनीले व्यवसायिक मोडेल परिमार्जन गर्दै इच्छुक कलाकारका प्रशंसकलाई एआईमार्फत गीतसँग खेल्न र सम्भावित रूपमा परिमार्जन गर्न दिने योजना बनाइरहेको छ।
‘संगीत उद्योगसँग घनिष्ठ सम्बन्ध हाम्रो लागि आधारभूत कुरा हो,’ सान्चेजले भने, ‘प्रयोगकर्ताहरू आफ्ना मनपर्ने कलाकार र गीतसँग जोडिन चाहन्छन्।’
यद्यपि धेरै पेसागत संगीतकर्मी सन्देहपूर्ण छन्। गायक–गीतकार टिफ्ट मेरिट, जो आर्टिस्ट्स राइट्स एलायन्सकी सहअध्यक्ष हुन्, ले हालै ‘स्टिलिङ इजन्ट इनोभेसन’ नामक अभियानमा सहयोग गरिन्। यस अभियानमा सिन्डी लाउपर र बोनी राइटजस्ता कलाकारहरूले एआई कम्पनीहरूलाई कपीराइटको सम्मान गर्दै लाइसेन्स सम्झौता गर्न आग्रह गरेका छन्।
मेरिट भन्छिन्, ‘एआई संगीतको अर्थतन्त्र विश्वभरका संगीतकर्मीको बौद्धिक सम्पत्तिमा आधारित छ। तर पारदर्शिता, सहमति र पारिश्रमिक बिना। हाम्रो सिर्जना नै हामीलाई विस्थापित गर्न प्रयोग भइरहेको छ।’
शुल्मन भने प्रविधि प्रायः कानुनभन्दा छिटो विकसित हुने तर्क गर्छन्। उनका अनुसार, कम्पनीले कानुन नतोड्ने प्रयास गर्दै पनि विश्वले चाहेको उत्पादन उपलब्ध गराउन खोजिरहेको छ।
यसअघि शुल्मनले ‘अधिकांश समय संगीत बनाउनु रमाइलो हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए, जसले विवाद उत्पन्न गर्यो। उनले पछि स्वीकार गरे, ‘मैले फरक शब्द प्रयोग गर्नुपर्थ्यो।’ उनका अनुसार, पूर्णता हासिल गर्न धेरै अभ्यास र दोहोर्याइ आवश्यक पर्छ, जुन सधैं रमाइलो नहुन सक्छ; तर समग्रमा संगीत अद्भुत छ र उनी दैनिक रूपमा रमाइलोका लागि संगीत बजाउँछन्।
उडिओका सान्चेज आफूलाई मित्रवत विकल्पका रूपमा प्रस्तुत गर्छन्। गुगलका पूर्व एआई अनुसन्धानकर्ताहरूले सन् २०२३ मा स्थापना गरेको यस स्टार्टअपमा करिब २५ कर्मचारी छन्। उनी स्वयं शास्त्रीय संगीतप्रेमी टेनर गायक हुन्।
कपीराइट कानुनका विज्ञ ब्रान्डन बटलरका अनुसार, धेरै लगानी पाएको कम्पनीले आम्दानीको स्रोत खोज्न बढी दबाब महसुस गर्छ, जसले सम्झौतामा ढिलाइ गराउन सक्छ। तुलनात्मक रूपमा कम लगानी पाएको कम्पनी सम्झौता गर्न छिटो तयार हुन सक्छ।
यसबीच, केहीले एआई-सहायित संगीत सिर्जनामा सम्भावना देखेका छन्। मिसिसिपीस्थित आफ्नो घरको बेसमेन्टबाट क्रिस्टोफर ‘टोफर’ टाउनसेन्डले एआईको प्रयोग गरी गस्पेल संगीत उत्पादन र बजारकरण गरिरहेका छन्। उनले च्याटजिपिटीबाट गीतका शब्द, सुनोबाट संगीत, र अन्य एआई उपकरणबाट आवरण कला तथा प्रचार सामग्री तयार गर्छन्।
बोस्टनको बर्क्ली कलेज अफ म्युजिकका प्राध्यापक जोनाथन वाइनरका अनुसार, सृजनशील संगीतकर्मीका लागि एआई नयाँ उपकरण मात्र हो, जसले प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउँछ।
तर मेरिटजस्ता कलाकारहरू अझै सचेत छन्। उनी भन्छिन्, ‘सबै एआई प्लेटफर्म एउटै हुँदैनन्। कपीराइट उल्लंघनको मुद्दा खेपिरहेको सुनोमाथि कलाकारहरूले सजिलै विश्वास गर्नु हुँदैन।’ (एपी)










