दिल्लीमा इन्डो नेपाल ट्रेड फेस्टिभल, ‘पाम र सोयाबिन तेलबाट निर्यात सिफ्ट हुनुपर्यो’



बिजमाण्डू
२०८२ फागुन ११ गते १२:४८ | Feb 23, 2026
दिल्लीमा इन्डो नेपाल ट्रेड फेस्टिभल, ‘पाम र सोयाबिन तेलबाट निर्यात सिफ्ट हुनुपर्यो’


काठमाडौं। नेपाल र भारतबीचको ब्यापारको परम्परागत ढाँचा बदल्नुपर्ने निष्कर्षसहित नयाँ दिल्लीमा इन्डो नेपाल ट्रेड फेस्टिभल सम्पन्न भएको छ।

Tata
GBIME
Nepal Life

दुई देशबीच बहुआयामिक आर्थिक प्राविधिक र सांस्कृतिक सहकार्य बलियो बनाउन ट्रेड फेस्टिभल आयोजना गरिएको बताइएको छ।  

महोत्सवमा १० भन्दा बढी सत्रहरु तथा नीति संवाद भएका थिए जसमा सहभागीहरुले लगानी प्रवर्द्धन, उर्जा साझेदारी, डिजिटल अर्थतन्त्र, पर्यटन, शिक्षा, स्वास्थ्य, युवा सशक्तिकरण र नवप्रवर्तनका क्षेत्रमा सुदृढ सहकार्य अपरिहार्य रहेको धारणा राखे।

महोत्सवमा भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले निर्यात संरचनामा बिबिधिकरण आवश्यक भएको बताए। उनले सोयाबिन तेल र पाम तेलमा निर्भरता घटाउन अन्य उत्पादन विस्तार गर्नुपर्ने धारणा राखे।

भारतमा नेपालको पर्यटन प्रवर्द्धन थप प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाई थियो।

महोत्सवमा भारत सरकारका अतिरिक्त सचिव मुनु महावारले भारत नेपाल स्टार्टअप साझेदारी अन्तर्गत ४० नेपाली उद्यमीलाई तालिम दिएको जानकारी दिए।

यस अन्तर्गत केही उद्यमी इन्क्युबेसन तथा लगानीका लागि छनौट भएको पनि उनले बताए।

नेपाल र भारतले टेक सहकार्य गरी हरित उर्जा स्रोत र युवा जनशक्ति डेटा सेन्टर तथा एआई इकोसिस्टममा उत्कृष्ट नतिजा ल्याउन सकिने विज्ञहरुको सुझाव थियो।

यसका लागि नीतिगत स्पष्टता, कर सहजीकरण तथा प्रविधि सुरक्षा सन्तुलन कायम गर्नु आवश्यक रहेकोमा उनीहरुले जोड दिए।

उर्जा साझेदारी अन्तर्गत भारतको दीर्घकालीन उर्जा आपूर्ति सुनिश्चित गर्न नेपाल रणनीतिक साझेदार बन्न सक्ने गरी ‘हिमालय कम्प्युट करिडोर’को अवधारणा अघि सारिएको थियो।

यसैगरी नेपालमा भारतीय पर्यटक भित्र्याउनका लागि रामायण सर्किट, बुद्ध सर्किट, साहसिक पर्यटन, वेलनेसका साथै डेस्टिनेसन वेडिङमा संभावना रहेको विज्ञहरुले औंल्याए।

यसकालागि दुबै देशले एकीकृत रणनीतिमा काम गर्न सके नेपालले पर्यटनमार्फत अर्थतन्त्र मजबुत पार्न सक्ने उनीहरुको सुझाव छ।  

संचार माध्यममा मिथ्या सूचना र कथानक निर्माणले दुई देशबीचको सम्बन्धमा दीर्घकालीन प्रभाव पर्न सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने आवश्यकता पनि वक्ताहरुले औल्याएका थिए।

नेपाल पर्यटन बोर्ड, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र तथा एभरेस्ट चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्सवमा ५० भन्दा बढी बिभिन्न ब्यापारिक स्टलहरु राखिएका थिए। तीन दिनसम्म चलेको महोत्सव २० हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ।