काठमाडौं। काठमाडौंका गल्लीदेखि अन्तर्राष्ट्रिय सहरका चोकसम्म अहिले एउटा साझा दृश्य देखिन्छ – हातमा कफीको कप र मेसिनमा व्यस्त बारिस्ता। नेपालमा कफी पिउने संस्कृतिको विस्तारसँगै ‘बारिस्ता’ अर्थात कफी बनाउने सीप भएको दक्ष व्यक्ति बन्ने लहर चलेको छ। हिजोका दिनमा रहरमा सीमित कफी अहिले एउटा बलियो पेशा र उज्यालो भविष्यको माध्यम बनेको छ। त्यसैले नेपालमा पनि बारिस्ता ट्रेनिङ दिने इन्स्टिच्युटहरु खुल्ने क्रम पनि बढेको छ।
बारिस्ताको माग नेपालसँगै विदेशमा पनि उच्च भएकै कारण काठमाडौं लगायत सहरी क्षेत्रमा बारिस्ता स्कुलहरु खोल्ने पनि बढ्दै गएको हो।
नेपालमा खुलेका बारिस्ता स्कुल संचालकहरुका अनुसार यो सीप सिक्ने ६० देखि ७० प्रतिशत युवाको मुख्य उद्देश्य वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि बाहिर जानु रहेको छ। बाँकी ३० देखि ४० प्रतिशतले भने नेपालकै कफी चेन र क्याफेहरूमा आफ्नो भविष्य खोजिरहेका छन्।
गोरखाका करुण लामिछानेले नेपालमै बारिस्ता ट्रेनिङ लिएका थिए। हिमालयन जाभाबाट बारिस्ता सीप सिकेर साउदी अरब पुगेका उनी हाल प्रख्यात ’स्टारबक्स’ मा कफी मास्टरका रूपमा कार्यरत छन्।
उनी भन्छन्, ‘सीप सिकेर आउँदा रोजगारी पाउन मुस्किल हुँदैन। म अहिले महिनाको एक लाखभन्दा बढी तलब खाइरहेको छु।’

नेपालमा निजी क्षेत्र मात्र होइन, सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पनि बारिस्ता तालिम दिँदै आएको छ।
सन् १९९९ देखि संचालनमा आएको हिमालयन जाभाले सन् २०१३ देखि औपचारिक रूपमा कफी शिक्षा दिन थालेको हो। जाभाका प्रोजेक्ट म्यानेजर दिपेन श्रेष्ठका अनुसार १२ वर्षमा ५० हजारभन्दा बढीले यहाँबाट बारिस्ता तालिम लिएका छन्।
यहाँको १५ दिने कोर्सको शुल्क ३० हजार रुपैयाँ छ, जहाँ कफीको इतिहासदेखि रोस्टिङ, एस्प्रेसो मेसिन चलाउने र ’आर्ट अफ स्टिमिङ’ सम्म सिकाइन्छ।
‘हामीले लगभग १२ वर्ष भन्दा बढी भयो बारिस्ता सिकाउन थालेको। हामीले सिकाउँदा कफीबारे त्यती ज्ञान फैलिएको थिएन। अहिले जहाँ हेरे पनि बारिस्ता स्कुल भेटिन्छ,’ उनले भने, ‘बारिस्ता स्कुल यसरी फैलनु नेपालीमा कफी प्रतिको मोह बढ्नु हो,’ उनले भने।
श्रेष्ठका अनुसार हिमालयन जाभामा ७० प्रतिशत विदेश जाने र ३० प्रतिशत नेपालमै रोजगारी र व्यवसाय गर्ने सोचले सिक्न यो सीप सिक्ने आउने गर्छन्। हिमालयन जाभाको बारिस्ता स्कुल बतिसपुतली, ब्लुबर्ड मल, चितवन, इटहरी, लगनखेल, महाराजगंन्ज, पोखरा, सुन्धारा र ठमेलमा छ।
त्यस्तै, द बारिस्ता कफी स्कुलले विगत १० वर्षदेखि बारिस्ता ट्रेनिङ दिइरहेको छ। यो स्कुलले ३ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको छ।
स्कुलका संचालक विनोद श्रेष्ठका अनुसार यहाँ १५ हजार रुपैयाँमा कफी बनाउन सिकाइन्छ। उनले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन आफ्नै कफी सप पनि संचालन गरेका छन् ताकि सिकेको सीपलाई निखार्न सकियोस्।
ग्यालेक्सी बारिस्ता नयाँ पुस्ताको रोजाइमा परेको भन्दै उनले युवाहरूलाई आकर्षित गर्न विभिन्न अफरहरू ल्याउने गरेको बताए।
‘हामीले सिकाएको अधिकांश विद्यार्थीहरु अन्तर्राष्ट्रिय शिक्षामा जाने विद्यार्थीहरु छन्। उनीहरुलाई पार्टटाइम जागिर गर्न सहज हुने हुनाले यो सीप सिक्न आउने गर्छन्,’ उनले भने, ‘कफीको सीप छोटो समय र कम खर्चमा सिक्न सकिन्छ।’

६ वर्ष देखि वारिस्ता सीप सिकाइ रहेको ग्यालेक्सी वारिस्ता कफी ट्रेनिङ इन्स्टिच्युटमा पनि विदेश जाने उद्देश्यले नै बारिस्ता ट्रेनिङ लिन आउनेको संख्या धेरै छ। संचालक युवराज पोखरेलका अनुसार कक्षा १२ को परीक्षा सकिएपछि विद्यार्थीहरूको चाप सबैभन्दा बढी हुन्छ। यहाँ १२ देखि २० हजार रुपैयाँमा बारिस्तासँगै पिज्जा र मकटेल बनाउन पनि नि: शुल्क सिकाइने गरिन्छ।
‘कफीको सीप सिक्दा घाटा हुँदैन्। यो सीप सिक्नेले रोजगारी र आफ्नै व्यवसाय गर्न सक्छन्। त्यसैले यो सीप सिक्नेको माग उच्च छ,’ उनल भने।
उनको अनुभवमा बारिस्ता सिक्न आउनेको संख्या कक्षा १२ सकेपछि बढ्छ। त्यो सिजनमा धेरै विद्यार्थीहरु बारिस्ता ट्रेनिङ लिन विभिन्न बारिस्ता स्कुलमा पुग्ने गर्छन्।
ग्यालेक्सीमा सिक्न आउने ५ हजार जनामा ६० प्रतिशत विदेशमा रोजगारीको लागि जाने गरेको उनले बताए। ग्यालेक्सीको इन्स्टिच्युट बागबजार, चाबहिल र लगनखेलमा रहेको छ।
बारिस्ता ट्रेनिङ लिएर विदेश जानेको संख्या उच्च भए पनि नेपालमै बसेर यो पेसालाई अंगाल्नेहरु धेरै छन्। सानो क्याफेदेखि रेष्टुरेन्टहरुमा समेत बारिस्ताको माग छ। यसरी बारिस्ता सिक्नेले स्वेदशमै पनि अवसर देखिरहेका छन्।

कीर्तिपुरमा संचालिन कफी क्याफेका रमेश महर्जन भन्छन्, ‘कक्षा १२ पछि के गरौं भन्ने थियो। मैले बारिस्ता ट्रेनिङ लिएँ र यहाँ कफी क्याफे संचालन गरें।’
उनले सुरु गरेको यो क्याफेमा अहिले दुईजना अन्य बारिस्ताले पनि रोजगारी पाएका छन्।
उनी भन्छन्, ‘धेरै साथीहरु मसँगै बारिस्ता सिकेर विदेश गए। मलाई उनीहरु उता राम्रो कमाइ हुने भनेर बोलाउँछन्। मैले चाहिँ आफ्नो ठाउँमै व्यवसाय गर्ने सोच बनाएँ।’
एक दक्ष बारिस्ता बन्नका लागि केवल मेसिन थिचेरमात्र पुग्दैन। कफीको आधारभूत ज्ञान जस्तै बिन्सको छनोट, रोस्टिङ र ब्लेन्डिङ, एस्प्रेसो उपकरणको प्रयोग र मर्मत, दूध स्टिमिङ गर्ने र कफीमा बुट्टा (ल्याटे आर्ट) भर्ने कलासँगै ग्राहकसँगको व्यवहार, सरसफाइ र कार्यस्थलको सुरक्षामा पनि ध्यान दिनुपर्ने हुन्छ।
नेपालमा हाल साना कफी कर्नरदेखि अन्तर्राष्ट्रिय चेनहरूसम्म विस्तार हुँदा दक्ष जनशक्तिको माग तीब्र छ। बारिस्ता सीपले युवाहरूलाई केवल रोजगारी मात्र दिएको छैन, नेपालको कफी व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन समेत टेवा पुर्याइरहेको छ। विदेश जानेका लागि यो सीप ‘एड्भान्टेज’ बनेको छ भने स्वदेशमै केही गर्न चाहनेका लागि एउटा भरपर्दो आधार पनि बनेको छ।










