काठमाडौं । ललितपुरको सानेपामा बिहीबार दोस्रो यल मेयर्स कप अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा बालविनोद मावि प्रथम भएको छ। महालक्ष्मी मावि र प्रभात मावि क्रमश: दोश्रो र तेस्रो भए।
प्रतियोगितामा हरेक विद्यालयलाई निश्चित समयभित्र कोडिङ गरी स्वचालित रोबोटिक्स मोड्युल तयार गर्न लगाइएको थियो। रोबोटिक्स मोड्युल तयार गर्ने यो प्रतियोगितामा हरेक विद्यालयबाट चार विद्यार्थी सहभागी थिए।
विद्यालयहरुले आफ्नै सिर्जनशीलता प्रयोग गरी तयार गरेका स्वचालित रोबोटिक्स मोड्युलको प्रदर्शनी समेत गरेका थिए। जसमा हरेक विद्यालयबाट दुई दुई जना सहभागी थिए।
यसरी स्वचालित रोबोटिक्स प्रदर्शनीतर्फ हिन्दु विद्यापीठ मावि प्रथम, श्रमिक बालविज्ञान आधारभूत विद्यालय दोस्रो र जलपा माध्यमिक विद्यालय तेस्रो भए।

दुवै विधामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः १० हजार, ८ हजार र ६ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
केडीडीआई फाउन्डेसनका अध्यक्ष कात्सुतोशी हानाहाराको उपस्थितीमा सम्पन्न कार्यक्रममा बालविनोद माध्यमिक विद्यालयकी छात्रा सोनाली सिंले रोबोटिक्स कोडिङको प्रयोगले समूहकार्य गर्न सहज भएको बताइन्। यस्ता प्रतियोगितामा सहभागी हुँदा अन्य विद्यालयका विद्यार्थीहरूसँग अनुभव आदानप्रदान गर्न पाएको उनको भनाई थियो।
प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीप्रसाद दुलालले रोबोटिक्स प्रतियोगिताको तयारीका लागि नगरपालिकाले विद्यालयलाई सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा यसको निरन्तरता आवश्यक रहेको बताए।
ललितपुर महानगरपालिका र केडीडीआई फाउन्डेसन जापानको सहयोगमा साझा शिक्षा ई पाटी नेपालले यो प्रतियोगिता सन्चालन गर्दै आएको छ।










