काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट प्रहरीले एक विदेशी नागरिकलाई सुनसहित पक्राउ गरेको छ।
शनिबार बेलुका ती नागरिक विमानस्थलको भन्सार कक्षबाट चेक गरेर बाहिरिइसकेका थिए। प्रहरीले उनको व्यवहार अस्वभाविक लागेपछि नियन्त्रणमा लिएको बताएको छ।
उनको झोला जाँच गर्दा ४० ग्राम सुन फेला परेको थियो। ४ वटा बिस्कुटको स्वरुपमा सुन बरामद भएको थियो।
६४ वर्षीय इम्तियाज अहमद एयर इन्डियाको उडानद्वारा भारतको दिल्लीबाट काठमाडौं आएका थिए। प्रहरीले उनलाई सोधपुछ गर्दा अरु कसैले सामान दिएको बताएका छन्।
‘अहिलेसम्म उनी क्यारियर (भरिया) मात्र भएको देखिएको छ। थप अनुसन्धान गर्दै छौं,’ विमानस्थल प्रहरी एसपी राजकुमार सिलवालले भने।
तर, प्रहरीले फिनल्याण्डका नागरिक अहमद भारतबाट नेपाल सुन लिएर किन आए भन्ने विषयमा अनुसन्धान थालेको छ।
नेपालमा भारतमा भन्दा सुन महँगो छ। करको कारणले पनि केही महँगो भएपछि अहिले नेपाल ट्रान्जिट भएर भारत सुन जाने क्रम रोकिएको छ।
‘हामीले यो ट्रेन्ड के हो भन्ने विषयमा अनुसन्धान गरिरहका हौं,’ एसपी सिलवालले भने।
केही दिनअघि दुबईबाट आएका एक भारतीय नागरिकले पनि मलद्वारमा राखेर सुन ल्याएका थिए। भन्सारबाट बाहिरिएपछि प्रहरीले शंका लागेर शौचालयमा लगेर शौच गराउँदा सुन बरामद भएको थियो।










