बालेनको घरमा चोरी गर्ने तीनजना पक्राउ, जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी

बिजमाण्डू
२०८२ माघ २५ गते १६:३८ | Feb 8, 2026
बालेनको घरमा चोरी गर्ने तीनजना पक्राउ, जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी


काठमाडौं । एक साताअघि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को मण्डिखाटारस्थित घरमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।

GBIME
Tata

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय खिमबहादुर खड्का, मनिष राजवाहक र डोटीका सञ्जय श्रेष्ठ रहेका छन्।

‘दुई दिनमा काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराइले भने।

प्रहरीले उनीहरुको साथबाट ल्यापटप ,सुनका गहना लगायत अन्य सामानहरु समेत बरामद गरेको छ।

पक्राउ परेका विष्णुबहादुरको योजनामा नै बालेनको घरमा चोरी गरेको देखिएको छ। उनीमाथि यसअघि पनि चोरी मुद्दा चलेको देखिन्छ। अदालतको आदेशमा कारागारमा रहेका उनी जेनजी आन्दोलनको क्रममा भदौ २४ गते नख्खु कारागारबाट भागेका थिए। कारागारबाट भागे पछि उनी पुनः चोरी धन्दामा नै लागेको देखिन्छ।

त्यस्तै, राजवाहकमाथि पनि यसअघि २०७२ मा कालीमाटी र महाराजगंजमा चोरी मुद्दा परेको थियो। उनी पनि चोरी मुद्दामा कैद भुक्तान गरिरहेकोमा जेनजी प्रदर्शनका क्रममा नख्खुबाट भागेका थिए।

बालेन बसेको घर बाहेक उनले अन्य ठाउँमा पनि चोरी गरेको देखिएको प्रहरीले जनाएको छ।