गोली चलाएपछि सुनसहित समातिए प्रेम, गत जेठमा प्यारोलमा बाहिरिएर पुनः शृंखलाबद्ध चोरीमा

बिजमाण्डू
२०८२ माघ २२ गते १०:३७ | Feb 5, 2026
गोली चलाएपछि सुनसहित समातिए प्रेम, गत जेठमा प्यारोलमा बाहिरिएर पुनः शृंखलाबद्ध चोरीमा


काठमाडौं। बाँकेका प्रेम चौधरीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नागार्जुन नगरपालिका–६ महांकालबाट गोली हानी नियन्त्रणमा लिएको हो। गस्ती टोलीसँगको जम्काभेटमा उनी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो।

GBIME
Tata

गोली लागेर घाइते उनको उपचार भइरहेको छ। काठमाडौंका विभिन्न स्थानमा शृंखलाबद्ध चोरीका घटना बढेपछि प्रहरीले अपरेसन चलाएको छ। केही दिनअघि मात्र काठमाडौंको बौद्धमा ६५ तोला सुनका गहना र नगद चोरी भएको थियो। त्यसपछि पनि यस क्षेत्रमा चोरीका घटना भएको देखिएको छ।

प्रेम चौधरी यसअघि पनि चोरी घटनामा सजाय भुक्तान गरेका व्यक्ति हुन्। जिल्ला प्रहरी परिसरबाट नै २०७९ सालमा मुद्दा चलेको एसपी भवन भट्टराईले बताए। कारागारबाट गत जेठमा उनी प्यारोलमा छुटेका थिए। कारागार व्यवस्था विभागले राम्रो चालचलन देखेमा बनेको समितिको सिफारिसमा उनलाई जेल बाहिर नै बसेर कैद भुक्तान गर्न सक्ने व्यवस्था प्यारोल हो।

तर भदौ २३ गतेको जेनजी आन्दोलनपछि उनी पुनः चोरी  गर्न थालेको खुलेको छ। उनी दिउँसोको समयमा खाली घरहरूमा छिरेर चोरी गर्ने गरेको देखिएको छ। रातभरि रेकी गरेर दिउँसो उनी चोरी गर्थे।

प्रहरीले उनको साथबाट करिब १ किलो बराबरको चाँदीको गहना र ७ सय ग्राम सुनको गहना बरामद गरेको छ।