पोखरा। वैदेशिक रोजगारीको प्रलोभनमा ११ जनाबाट साढे १४ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा-१९ लामाचौरकी ३४ वर्षीया कल्पना नहर्की पौडेल र पोखरा–६ बस्दै आएका मुगुको खप्तड–११ का २८ वर्षीय वीरेन्द्र रावत छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरूलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार आरोपितहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितसँग सम्पर्क गरी आफू कानुन व्यवसायी रहेको, श्रीमानले पोल्याण्डमा होटल चलाइरहेको र त्यहाँ किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायत विभिन्न पदमा नेपाली कामदारको माग रहेको भन्दै विश्वास दिलाएका थिए। सोही बहानामा विदेश पठाइदिने आश्वासन दिई ११ जनाबाट जनही १० हजारदेखि २ लाख रुपैयाँसम्म असुली १४ लाख ६० हजार रुपैयाँ ठगी गरेको जाहेरी परेको छ।
पक्राउ दुवैलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले सोमबार जनाएको हो।










