जाडोमा लेकको यात्रालाई हामीले दुस्साहस नै भन्नुपर्छ। तर, एडभेन्चर मन पराउनेहरुका लागि उँभौलीको यात्रा कति रोमाञ्चक हुन्छ भन्ने अनुभव हामीले गर्न पायौं। हाम्रो मित्रता जस्तै पुराना हाम्रा बाइकहरु पनि समयसँगै पुराना भए। धेरै समयदेखि हाम्रो एउटा रहर थियो – सिन्धुपाल्चोकको रहस्यमयी भैरव कुण्ड पुग्ने, जहाँ तालको पानी होइन, नीलो ऐना जस्तो जमेको बरफ भेटिन्छ। हामी तीन अर्थात् म, वसन्त र हरि।
शुक्रबार बिहान काठमाडौं जब ब्युँझिरहेको थियो। हामी यात्रामा निस्कने ननिस्कने निश्चित भइसकेको थिएन। ग्रुपमा कुरा त चलिरहेको थियो, तर सबै अफिस जाने हामीले वीकेन्डमा बाहिर जाने योजना मात्रै बनाएका थियौं। आइतबार त अफिस अवश्य पुग्नै पर्थ्यो।
बिहान अफिस पुगेपछि हामी तीनैजना १ बजे छुट्टी लिएर निस्कियौं। अरनिको राजमार्गमा हाम्रा बाइकहरू हुइँकिरहेका थिए। बाटो कतै कालोपत्रे, कतै धुलो, कतै हिलो। हरिको केटीएम बाइकको थर्काइ र हाम्रो उत्साह उस्तै थियो। केराघारीमा तातो चिया खाएपछि हाम्रो असली यात्रा सुरु भयो।

दोलालघाट हुँदै बाह्रबिसेसम्मको बाटो पिचको थियो। बाटो वरपर दृश्य मन मोहक थिए, खोला, हरियाली, र र्याफ्टिङका बोट। बाह्रबिसेबाट माथि लाग्दा सडक खाल्डाखुल्डीले हाम्रो राइडलाई झनै एड्भेन्चर बनाइदियो। द लास्ट रिसोर्टमा बेलुका ५ बजे पुग्यौं, खाजा खायौं। त्यसपछि हामी दाकलाङबाट गाउँतिर जाने रुट लिएर टफ राइड सुरु गर्यौं।
खोला पार गर्दा बाटो झनै अप्ठेरो भयो। कतै ठाडो ग्राभेल, कतै ढुंगा छापेका, कतै हिलो, कतै बाइक धकेल्नुपर्ने अवस्था। हाँसो र चिन्ताको मिश्रणमा, थकानभन्दा बलियो थियो हाम्रो मित्रता। बगाम पुग्दा साँझको गोधुली प्रकाशले आकाश सुनौलो र बैजनी रंगले रंगिँदै थियो।
बगाममा स्थानीयसँग भेटेर माथि बस्नका लागि होमस्टे नम्बर बुक गर्यौं। बगाम र चोकरमोकर दुवै ठाँउमा खाने र बस्ने सुविधा उपलब्ध छ। बगाममा बस्दा भोलिपल्ट बिहान चोकरमोकर पुग्न सजिलो हुन्छ। हामीले त्यही रात बगाममा बितायौं। राति तापक्रम शून्यभन्दा तल झर्यो। चिसोमा बाबजुद हाम्रा लागि यो यात्रा उत्साहप्रद प्रतीत भइरहेको अनुभव थियो। अफिसबाट निस्केर काठमाडौं छाडेदेखि बाससम्मको यात्रा सम्झँदा थकानभन्दा बढी रमाइलो अनुभूति थियो।

चोकरमोकर पुग्न करिब २ घण्टा लाग्यो। रातको ९ बज्दा माथि डाँडामा पुगेका थियौं। दृश्य मनमोहक थियो। बादलले बाटो बनाएको सर्किट, उज्यालो हिमाल र जुनको प्रकाश। हामी आगो ताप्दै रुममा फ्रेस भयौं। केही बाहिर बसेर रमाइलो गर्न मन थियो, तर चिसो मौसमले साथ दिएन।
बिहान ४:३० बजे उठेर ५ बजे माथितिर हिड्ने तयारी गर्यौं। बाइक त्यहाँ छोडेर टर्च लाइट बाल्दै झोला भरेर पैदल उकालो लाग्यौं। पाचपोखरी जस्तो ठाडो र ढुंगैढुंगाको ट्रेल, तर दृश्यले हाम्रो जोश अझै बढायो। तल बादल, माथि हामी। यात्रा कठिन तर रोमाञ्चक।

करिब डेढ घण्टाको पैदल यात्रापछि, हामी भैरव कुण्ड पुग्यौं। ४ हजार मिटर माथिको उचाइमा रहेको ताल पूर्ण रूपमा जमेको थियो। परबाट देख्दै रमाउँदै कराउनुजस्तो। ओहो ! कत्रो बरफको ढिक्का !
गाढा नीलो र सेतो रंगको मिश्रण, मानौँ कसैले आकाशलाई जमाइदिएको छ। सूर्यको पहिलो किरणले ताललाई स्पर्श गर्दा त्यो चाँदीजस्तै चम्कियो। चारैतिर शान्ति, न कुनै आवाज, न त हतार। हामी तीनै जना निशब्द भयौं।
वसन्तले बिस्तारै खुट्टा राखे। हामी तालको बीचसम्म गयौं। तल हेर्दा बरफ भित्रका फोकाहरू स्पष्ट देखिन्थे। हरिले चिसोले रातो भएको हातले ताललाई सुम्सुम्यायो। लाग्थ्यो, हामी पृथ्वीको कुनै अर्कै ग्रहमा छौं। हरिले आनन्द महसुस गर्दै भने, ‘स्वर्ग भनेको यस्तै ठाउँहरूलाई भन्छन् होला नि।’
हामी फोटो खिच्यौं, चिसो हावामा रमायौं। थकान, अप्ठेरो मोड, र बाइक राइडका सबै क्षणहरू यही विशेष बिहानको लागि रहेछ भन्ने महसुस भयो।

बाइक राइड, अप्ठेरो अफ रोड, खोलापार, पहिरो पन्छाउँदै, खाल्डाखुल्डी पार गर्दै यात्रा साहसिक र रोमाञ्चक थियो। राति अँध्यारोमा बाइकको हेडलाइटले मात्र बाटो देखाउने अवस्था थियो। मननै लोभ्याउने दृश्य, हिमाल र बादलको मिलन, सूर्यको पहिलाको झुल्को। यी सबै अनुभवले हाम्रो यात्रालाई अविस्मरणीय बनायो।

भोजन र बसाइ
यात्रा महँगो थिएन। बगाम र चोकरमोकरमा खाने र बस्ने सुविधा उपलब्ध छ। प्याकेज करिब १४०० रुपैयाँमा खाना र बसाइ। हाम्रो तीन जनाको कुल खर्च, बाइकमा तेल, बाटोमा खाजा, र काठमाडौंमा थकाली खाना सहित करिब ९ हजार रुपैयाँ भयो।

यात्राको मार्ग
- काठमाडौं–दोलालघाट–बाह्रबिसे : करिब ३ घण्टा
- दाकलाङ–लिस्ती : १ घण्टा
- लिस्ती–बगाम : १ घण्टा
- बगाम–चोकरमोकर : डेढ घण्टा
- चोकरमोकर–भैरव कुण्ड : डेढ घण्टा पैदल


यस्तो यात्रामा निस्कँदा हामीले सतर्कताका उपाय गर्नुपर्छ। लेकको यात्रा गर्दा सावधानीले ज्यान जोगाउँछ। लेकमा जानु अघि होमस्टे बुक गर्नु, पर्याप्त खाना र पानी लिएर जानु, राति चिसोको सामना गर्न पर्याप्त लुगा राख्नुपर्छ। पैदल हाइक कठिन भए पनि दृश्य र अनुभव अतुलनीय हुने रहेछ।

बाइक राइड, अप्ठेरो बाटो, गोधुली साँझ, अन्धकारमा हिँडाइ, सूर्योदयसँगै पाएको आनन्द। यी सबै मिलेर यात्रा जीवनभर स्मरणीय पल बनेको छ। हरेक दुःख, हरेक कठिन मोड यही क्षणका लागि रहेछ भन्ने महसुस भयो। फ्रोजन लेक, हिमाल र सूर्यको पहिलो झुल्को, मित्रता र साहस। यी सबैले हाम्रो यात्रा अविस्मरणीय बन्यो।










