विदेशी पर्यटकको ‘फेक रेस्क्यु’ गरेर करोडौं बीमा रकम असुली, ६ जना सीआइबीको फन्दामा



सविन ढकाल
२०८२ माघ ११ गते १८:१४ | Jan 25, 2026
विदेशी पर्यटकको ‘फेक रेस्क्यु’ गरेर करोडौं बीमा रकम असुली, ६ जना सीआइबीको फन्दामा


काठमाडौं। बीमाको रकम हत्याउन ट्रेकिङ र पर्वतारोहणमा गएका विदेशी नागरिकको ‘फेक रेस्क्यु’ गरेको अभियोगमा ६ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले आइतबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको छ।

Tata
GBIME

पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्यु सर्भिसका संचालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका संचालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेक राज थपलिया तथा एभरेस्ट एक्सपेरियन्स एन्ड एसिस्टेन्सका संचालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन्।

सीआइबीले साढे २ महिनादेखि अनुसन्धान गरेको सीआइबीका प्रमुख एआइजी डा. मनोज कुमार केसीले जानकारी दिए। अनुसन्धानपछि ३ कम्पनीका संचालक र म्यानेजरहरू पक्राउ परेका हुन्। गत असोज १२ गते र पुसको १ गते प्रहरीमा उजुरी परेको उनले बताए।

अनुसन्धानका क्रममा माउन्टेन रेस्क्यु सर्भिसले गरेका १ हजार २४८ मध्ये १७१ जनाको शंकास्पद रेस्क्यु देखिएको छ। उक्त कम्पनीले कुल १ करोड ३ लाख १० हजार २७६.७५ अमेरिकी डलर बराबरको बीमा दाबी गरेको प्रमुख केसीले बताए।

‘३ करोडभन्दा बढी शंकास्पद कारोबार देखिन्छ,’ उनले भने, ‘यस घटनामा अन्य पक्षहरूमाथि पनि अनुसन्धान भइरहेको छ।’

त्यस्तै, नेपाल चार्टर सर्भिसले गरेका ४७१ जनाको रेस्क्युमध्ये ७५ वटालाई प्रहरीले शंकास्पद भनेको छ। उक्त कम्पनीले कुल ८२ लाख ३४ हजार ८२.९९ डलर बीमा दाबी गरेको देखिएको छ।

त्यसैगरी, एभरेस्ट एक्सपेरियन्स एन्ड एसिस्टेन्सले ६०१ जना पर्यटकको रेस्क्यु गरेको थियो। जसमा ७१ जनाको रेस्क्यु शंकास्पद देखिएको छ। कम्पनीले ११ लाख ५३ हजार ९१९.३३ डलर बीमा दाबी गरेको सीआइबीले जानकारी दिएको छ।

अनुसन्धानमा फेक रेस्क्युको तरिका पनि खुलेको छ। पर्यटकहरूको इन्स्युरेन्स पोलिसीबारे पहिले जानकारी लिएर कम्पनीहरूले फेक रेस्क्युको जाल बुन्ने गरेको सीआइबीले स्पष्ट पारेको छ।

सीआइबीका प्रवक्ता शिव कुमार श्रेष्ठ र प्रमुख केसी।

उच्च उचाइमा अक्सिजनको कमीका कारण देखिने सामान्य प्रतिक्रियालाई एक्युट माउन्टेन सिकनेस (एएमएस) भनेर बढाइचढाइ गर्ने गरेको देखिएको छ। त्यस क्रममा सामान्य सावधानी नअपनाउन डर देखाउने गरेको पाइएको छ।

फेक कागजपत्र बनाउने ट्रेकिङ कम्पनी, हेलिकप्टर संचालक कम्पनी र अस्पतालमा पनि एउटै समूहको संलग्नता रहेको खुलेको छ। यो समूहले रेस्क्युका लागि एउटा ठाउँको परमिट लिएर रेस्क्यु भने अर्कै ठाउँबाट गरेको देखिन्छ।

‘३ जनाको एउटै हेलिकप्टरबाट रेस्क्यु गरिएको छ। तर, बीमा दाबी भने दुई वटा हेलिकप्टरमार्फत फरक ठाउँबाट गरेको देखाइएको छ,’ एक अनुसन्धान अधिकृतले भने।

पर्यटकलाई हेलिकप्टर माग गर्न दबाब दिने वा त्यस्तो अवस्था सिर्जना गर्ने गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ। हेलिकप्टरमार्फत निश्चित अस्पतालमा पठाई उपचार गरिएको स्वास्थ्य रिपोर्ट तयार गर्ने गरिएको पाइएको छ।

सामान्य एएमएस लागेको पर्यटक उचाइबाट केही तल झरेपछि आफै निको हुने तथ्य लुकाइएको पाइएको छ। त्यसैका आधारमा रेस्क्यु कम्पनी र अस्पतालले फरक-फरक वा एकमुष्ठ रूपमा इन्स्युरेन्स कम्पनीसँग बीमाको रकम दाबी गर्ने गरिएको अनुसन्धानमा खुलेको छ।

प्रहरीले सन् २०१८ देखि हालसम्म भएका विदेशी पर्यटकहरूको २ हजारभन्दा बढी रेस्क्युमाथि अनुसन्धान गरेको थियो।