काठमाडौं। झापा-५ मा उम्मेदवार बनेका रास्वपा नेता बालेन शाहविरुद्ध सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिनेको खोजी सुरु भएको छ। केही दिनअघि डिस्कर्डमा भएको एउटा समूहबीचको संवादको अंश अहिले टिकटकमा आएयता प्रहरीले खोजी थालेको हो।
उक्त संवादमा एक सहभागीले बालेनलाई ‘लुसिफर’को संज्ञा दिँदै झापाबाट लखेट्ने लगायतका आपराधिक घटना गराउने आशयका अराजक कुरा गरेका छन्। पहिचान गोप्य राखेर एउटा सामाजिक सञ्जालमा भएको वार्ताको अंश अर्कोमा आएपछि सुरक्षा निकायको चासो बढेको हो।
गत भदौ २३-२४ का जेनजी प्रदर्शन र दोस्रो दिनको विध्वंससँगै सरकार गठनका संवादहरु युवा समूहले डिस्कर्डमै गरेका थिए। उक्त संवादमा संसारका विभिन्न मुलुकमा रहेका युवाहरुले देशमा कस्तो शासन व्यवस्था हुनुपर्ने भन्ने विषयमा निकै दिन बहस गरेका थिए। जेनजी विद्रोहपछि नै मुलुकका लागि मध्यावधि निर्वाचन गराउनुपर्ने अवस्था आएको हो। त्यसैले सुरक्षा निकायका अधिकारीहरु पछिल्लो ‘डिस्कर्ड’ संवादबारे गम्भीर भएका छन्।
प्रहरीले सामाजिक सञ्जालमा यस्तो सामाजिक सुरक्षा भड्काउने समूहलाई खोजी गर्न थालेको छ। गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दिएको छ। भिडियोमा ‘योजना बनाउने’ भन्ने युवकको प्रहरीले पहिचान गरेको छ। उनी हाल नेपालमा नभएर नेदरल्यान्ड भएको खुलेको छ।
‘अनुसन्धान भइरहेको छ। ती युवक अहिले प्रारम्भिक अनुसन्धानमा नेदरल्यान्डमा भएको देखिएको छ,’ गृह मन्त्रालयका एक कर्मचारीले भने।
निर्वाचन सामाजिक सञ्जालको प्रयोग गरेर अफवाह फैलाउने, दुष्प्रचार गर्न, चरित्र हत्या गर्ने लगायतका घटना हुनसक्ने भन्दै प्रहरीले प्रत्येक जिल्लामा साइबर सम्बन्धि ज्ञान भएको प्रहरी समेत खटाउने तयारी गरेको छ। त्यस्तै नेपाल प्रहरीको साइबर ब्यूरोले भने निगरानी गरिरहेको छ।










