एसबीआइ बैंक लुट घटना : थप एक जना पक्राउ, काठमाडौंबाट योजनासहित पुगेका थिए सिन्धुली



बिजमाण्डू
२०८२ माघ १ गते १३:०३ | Jan 15, 2026
एसबीआइ बैंक लुट घटना : थप एक जना पक्राउ, काठमाडौंबाट योजनासहित पुगेका थिए सिन्धुली


काठमाडौं। सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकको शाखामा भएको लुटपाटको घटना अनुसन्धानका क्रममा थप एक जना पक्राउ परेका छन्।

Tata
GBIME

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बिहीबार बिहान सुनकोसी गाउँपालिका-५ बाट एक जनालाई पक्राउ गरेको हो। लुटपाटपछि लुकेर बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जिप्रका सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।

घटना गत मंगलबार साँझ भएको थियो। अनुसन्धानका क्रममा अहिलेसम्म प्रहरीले जीपचालक बाहेक प्रत्यक्ष ६ जनाको संलग्नता रहेको दाबी गरेको छ। ड्राइभरसहित ६ जना पक्राउ परेका छन्। संलग्नमध्येका फरार एक जनाको अझै खोजी भइरहेको छ।

प्रहरीले सुरुमा लुटका क्रममा रिजर्भ गरी प्रयोग गरेको बीएडी ०३९८ नम्बरको जिपका चालक भवतसिंह थापालाई पक्राउ गरेको थियो। बयानमा थापाले आफूलाई बैंक लुटको जानकारी नभएको र जीप रिजर्भ गरेकै कारण सिन्धुली आउनुपरेको प्रहरीलाई बताएका छन्। त्यसपछि अन्यलाई नियन्त्रणमा लिएको हो।

काठमाडौंबाट योजना बनाएर ६ जनाको समूह आएको खुलेको छ। बनेपा आएपछि भने जीप रिजर्भ गरेर उनीहरू आएका थिए। ‘अहिलेसम्म काठमाडौंबाट ६ जना आएको देखिएको हो,’ एसपी सुवेदीले भने। प्रहरीले बैंकमा पुगेका बाहेक अन्यको संलग्नताको बारे अनुसन्धान गरिरहेको छ।

लुटेकाको समूहले मंगलबार साँझ साढे ६ बजेतिर घयाङलेख-२ बस्तीपुरस्थित बैंकको शाखामा पुगेर सबैभन्दा पहिले गार्डलाई नियन्त्रणमा लिएको थियो। गार्डले दिएको बयान अनुसार दुई जनाले पेस्तोल र ४ जनाले खुकुरी बोकेका थिए। अनुहारमा नकाब थियो।

अनुहार खुट्याउन नसके पनि गार्डले ती लुटेराहरूको लुगा, कद लगायतको जानकारी भने प्रहरीलाई दिएका थिए। बैंकबाट ३ करोड १० लाख रुपैयाँ लुटिएको थियो। जसमा १ करोड ८० लाख रुपैयाँ भाग्दै गर्दा स्थानीय र प्रहरीले लुटेरबाट बरामद गर्न सफल भएका थिए।

बैंकका गार्डसहित ४ जना बैंक रहेको एक तलामाथि आवासीय रुपमा बस्दै आएका थिए। प्रहरीले अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको दाबी गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर घटनाको जानकारी दिने तयारी गरेको छ।