काठमाडौं। सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ४ हजार १ सय रुपैयाँले वृद्धि भएको छ।
सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ७४ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गत शुक्रबारका तुलनामा २ हजार ८ सय रुपैयाँ बढेर आइतबार तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ भएको थियो। पुस महिनामा मात्रै सुन तोलामा १५ हजार ७ सय रुपैयाँ बढेको छ। चालु महिनाको प्रारम्भमा तोलाको २ लाख ५९ हजार रुपैयाँ थियो।
चाँदी पनि अस्वाभाविक तवरले महँगिने क्रम थामिएको छैन। सोमबार कारोबार मूल्य तोलाको ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा प्रति तोला २ सय ५ रुपैयाँले बढेर उक्त मूल्य कायम भएको महासंघले जनाएको छ।
यसअघि गत शुक्रबारका तुलनामा २ सय १० रुपैयाँ बढेर आइतबार प्रति तोला ४ हजार ९ सय ९० रुपैयाँ भएको थियो। पुस लागेयता मात्रै चाँदी तोलामा १ हजार ३ सय १० रुपैयाँ बढिसकेको छ। चालु महिनाको सुरुमा तोलाको ३ हजार ८ सय ८५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य बलियो हुँदै प्रति औंस ४५७०.२३ डलर पुगेको छ। चाँदी प्रति औंस ८३.४७ डलरले कारोबार भइरहेको छ। आइतबार सुन प्रति औंस ४५०९.२ डलर र चाँदी ७९.९१ डलर थियो।










