टिकट काटेर महोत्सव किन जाने? उही स्टल, उही भीड र उही निराशाको पुनरावृत्ति!



बिजमाण्डू
२०८२ पुष २७ गते ०६:२० | Jan 11, 2026
टिकट काटेर महोत्सव किन जाने? उही स्टल, उही भीड र उही निराशाको पुनरावृत्ति!


टिकट काटेर महोत्सव किन जाने ? सन्दर्भ हो – रत्ननगर महोत्सव सुरु हुँदै गर्दाको दिन। एक स्थानीयका हिसाबले म यो महोत्सवमा टिकट काटेर किन जाने? म जस्तालाई जानैपर्ने महोत्सवमा के छ अथवा नगए मैले के गुमाउँछु? मनमा यस्ता प्रश्न उब्जेको धेरै भयो।

Tata
GBIME
Nepal Life

नेपालमा वर्षैभरि कुनै न कुनै बहानामा मेला महोत्सवहरू भइरहन्छन्। कहिले उद्योग संघको नाममा, कहिले नगरपालिकाको आयोजना, कहिले पर्यटन प्रवर्धनको आवरणमा त कहिले सांस्कृतिक उत्सवको रूपमा। यस्ता महोत्सवहरूको मूल उद्देश्य भनिन्छ – स्थानीय उत्पादनको प्रवर्धन, साना तथा घरेलु उद्योगको विकास, पर्यटन विस्तार र सांस्कृतिक संरक्षण।

तर, व्यवहारमा हेर्दा यी उद्देश्यहरू कति पूरा भएका छन् भन्ने प्रश्न गम्भीर छ। महोत्सवस्थलभित्र थापिएको बजारमा स्थानीयस्तरका उत्पादन कति हुन्छ? कति आयातित वस्तुका स्टल हुन्छन्? देशभर स्वदेशी उत्पादन प्रवर्धन कसरी होला भने सोच्ने अवलोकनकर्ताका लागि हात लाग्छन् निराशा।

अझ स्पष्ट शब्दमा भन्नुपर्दा, उद्योग संघले गर्ने धेरैजसो महोत्सवहरूले स्थानीय व्यापार प्रवर्धन गर्न सकेका छैनन्, तैपनि महोत्सवहरू निरन्तर भइरहेका छन्, र एउटा निश्चित समूह यस्ता महोत्सवमा बारम्बार दौडिरहेको देखिन्छ। यस्तो अवस्थामा प्रश्न उठ्छ के का लागि टिकट काटेर महोत्सव जाने?

नेपालमा मेला महोत्सवको इतिहास पुरानो छ। परम्परागत रूपमा मेला भन्नाले धार्मिक, सांस्कृतिक र सामाजिक जमघटलाई जनाइन्थ्यो। जात्रा, पर्व, तीर्थस्थलमा लाग्ने मेला, गाउँ शहरको हाटबजार यी सबै स्थानीय उत्पादन, सीप र संस्कृतिको आदान प्रदानका केन्द्र हुन्थे। किसानले उत्पादन गरेको अन्न, स्थानीय खानपान र लोकसंस्कृति नै मेलाको मुख्य आकर्षण हुन्थ्यो।

तर, समयसँगै महोत्सवको स्वरूप फेरियो। निजी क्षेत्र, उद्योग संघ, चेम्बर अफ कमर्स, नगर विकास समितिहरू जस्ता संस्थाहरूको प्रवेशसँगै मेला महोत्सव व्यवसायिक बन्दै गयो। स्टल शुल्क, प्रायोजन, टिकट बिक्री, मनोरञ्जन कार्यक्रम एउटा ठूलो इभेन्टमा रूपान्तरण गर्‍यो।

उद्योग वाणिज्य संघहरुले आयोजना गर्ने महोत्सवहरूको सबैभन्दा ठूलो नारा हुन्छ ‘स्थानीय उत्पादनको प्रवर्धन।’ तर, यथार्थमा हेर्दा अधिकांश स्टलहरू स्थानीय साना व्यापारी वा घरेलु उद्योगका हुँदैनन्। ठूला ब्रान्ड, बाहिरी शहर वा देशबाट आएका व्यापारी, आयातित सामान बेच्नेहरू नै स्टलहरूमा हाबी हुन्छन्।

स्थानीय उद्यमीहरू भने महँगो स्टल शुल्क, व्यवस्थापनको पहुँच नपुग्ने अवस्था र प्रतिस्पर्धाको दबाबका कारण पछाडि धकेलिन्छन्। यसले स्थानीय उत्पादनलाई बजार दिनु त परै जाओस्, उल्टै स्थानीय उद्यमीको मनोबल गिराउँछ। नेपालमा एउटा रोचक तर दुःखद प्रवृत्ति देखिन्छ उही मान्छेहरू, उही अनुहारहरू, उही समूहहरू हरेक महोत्सवमा देखिन्छन्।

यो एउटा ‘महोत्सव इकोसिस्टम’ जस्तो बनेको छ, जहाँ सीमित समूहले अवसरहरू घुमाएर उपभोग गर्छ। महोत्सवमा प्रवेश गर्न टिकट काट्नुपर्छ। प्रश्न उठ्छ टिकट काटेर हामी के हेर्न जान्छौं?

  • उही स्टल, उही सामान हरेक महोत्सवमा प्रायः उही कपडा, उही जुत्ता, उही भाँडा, उही मोबाइल कभर, उही फास्टफुड। फरक यति मात्र हुन्छ ब्यानर र नाम।
  • मनोरञ्जनको पुनरावृत्ति उही गायक, उही नाच, उही कमेडियन। सांस्कृतिक विविधताको नाममा सीमित कलाकारहरूको घुम्ती कार्यक्रम।
  • भीड र अव्यवस्था महँगो टिकट तिरेर पनि धुलो, भीड, पार्किङ समस्या, महँगो खानेकुरा र आधारभूत सुविधाको अभाव। यस अवस्थामा आम नागरिकले सोध्नु स्वाभाविक हुन्छ यो अनुभवका लागि पैसा किन तिर्ने?

महोत्सवप्रति आकर्षण हुनुको एउटा कारण सामाजिक मनोविज्ञान पनि हो। ‘सबै गएका छन्,’ ‘नगए पछि परिन्छ कि’ भन्ने डर, सामाजिक सञ्जालमा फोटो हाल्ने चाहना, बालबालिकाको जिद्दी, सांस्कृतिक कार्यक्रम हेर्ने इच्छा यी सबै कारणले मानिस टिकट काटेर महोत्सव पुग्छ। तर जब महोत्सवले उपभोक्तालाई बारम्बार निराश बनाउँछ, तब यो आकर्षण क्रमशः घट्न थाल्छ।

अहिले धेरै नेपालीमा ‘महोत्सव थकान’ देखिन थालेको छ, जहाँ मानिस भन्छन्, ‘फेरि त्यही हो, नजाँदा पनि हुन्छ।’ स्थानीय किसान, साना उद्यमी, श्रमिक र उपभोक्ताले भने अपेक्षित लाभ पाउँदैनन्। उल्टै महोत्सवको समयमा स्थानीय बजार प्रभावित हुन्छ, नियमित व्यापार घट्छ, र मूल्यवृद्धि हुन्छ।

विभिन्न नाममा आयोजना हुने व्यापारिक मेला र महोत्सवहरुका आर्थिक पारदर्शितामाथि पनि प्रश्न उठाउन जरुरी छ। टिकट बिक्री, स्टल शुल्क र प्रायोजनबाट उठेको रकम कहाँ र कसरी खर्च हुन्छ भन्ने जानकारी सर्वसाधारणका लागि प्रायः अस्पष्ट हुन्छ। महोत्सवपछि स्थानीय उद्योग, किसान वा पर्यटन क्षेत्रमा कति प्रत्यक्ष फाइदा पुग्यो भन्ने तथ्यांक सार्वजनिक हुँदैन।

यदि महोत्सव वास्तवमै स्थानीय विकासका लागि हो भने त्यसको प्रभाव मूल्यांकन, सार्वजनिक लेखाजोखा र स्थानीय सहभागिताको सुनिश्चितता अनिवार्य हुनुपर्छ। नत्र महोत्सव विकासको माध्यम होइन, सीमित समूहको आम्दानी र मनोरञ्जनको साधनमा सीमित हुने खतरा बढ्दै जान्छ।

अब प्रश्न बदलिन थालेको छ हामी टिकट काटेर महोत्सव जान्छौं, तर वास्तवमा त्यहाँ के खोजिरहेका छौं? यदि उत्तर स्थानीय विकास, मौलिकता र दिगोपन होइन भने, महोत्सवको औचित्यमाथि गम्भीर पुनर्विचार आवश्यक छ।

(चितवनका घिमिरे पर्यटन व्यवसायी हुन्)