रास्वपाका गतिविधिमा सामेल हुन बालेनको आनाकानी, कुलमानलाई चित्त बुझाउनुपर्ने सर्त



प्रकाश भण्डारी
२०८२ पुष २४ गते १३:२४ | Jan 8, 2026
रास्वपाका गतिविधिमा सामेल हुन बालेनको आनाकानी, कुलमानलाई चित्त बुझाउनुपर्ने सर्त
रवि लामिछाने, बालेन साह र कुलमान घिसिङ। फाइल तस्वीर

काठमाडौं। कुलमान घिसिङ पक्षको असन्तुष्टि सम्बोधन हुन नसकेको कारण देखाएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गतिविधिमा सरिक हुन आनाकानी गरेका छन्।

Tata
GBIME
Nepal Life

कुलमान पक्षको समायोजन नभएको भन्दै बालेनले रास्वपामा सक्रिय हुन आनाकानी गरेका हुन्। बालेनले आफू निकटस्थहरुसँग कुलमान पक्षलाई पार्टीमा समायोजन गरेपछि मात्रै आफू रास्वपाको गतिविधिमा संलग्न हुने बताएका छन्।

‘कुलमान पक्षलाई समेटेर एकता सभा गरेपछि मात्रै बालेन पार्टीका गतिविधिमा देखिनुहुन्छ। त्यसपछि मात्रै चुनाव प्रचार तथा तयारीका काममा उहाँ सलंग्न हुनुहुन्छ,’ बालेनका तर्फबाट रास्वपाको केन्द्रीय सदस्य मनोनीत प्रदीप ज्ञवालीले भने।

बालेनका तर्फबाट रास्वपाले केन्द्रीय समितिमा २६ जनालाई मनोनीत गरेको छ। तीमध्ये अधिकांशले पुस २० गते राति सभापति रवि लामिछानेबाट शपथ लिएका थिए। केही सदस्यले २२ गते शपथ ग्रहण गरे।

बालेनको कोटाका रास्वपा केन्द्रीय सदस्य सपथ लिंदै

तर, रविले वरिष्ठ नेता मनोनीत गरेका बालेनले अहिलेसम्म शपथ लिएका छैनन्। जबकि रास्वपाका नेताहरुले बालेन २० गते नै शपथमा सहभागी हुने विश्वास गरेका थिए। उनी २२ गते बसेको सचिवालय बैठकमा पनि उपस्थित भएनन्।

रास्वपाको सचिवालय बैठक

बालेन पुस १३ गतेपछि रास्वपाका नेताहरुसँगको बैठकमा सहभागी भएका छैनन्। रास्वपाले २१ गते राष्ट्रिय सभागृहमा राखेको एकता सभामा बालेन र कुलमान दुवै अनुस्थित रहे।

पार्टी गतिविधिमा सक्रिय हुन रास्वपाका नेताहरुले बारम्बार आग्रह गरे पनि बालेनले कुलमानको असन्तुष्टिलाई कारण देखाएर नमानेको उनी निकट नेताहरुको भनाइ छ।

रास्वपाले भने बालेनलाई पार्टी गतिविधिमा संलग्न गराएर चुनावको तयारीलाई तीव्रता दिन चाहेको छ। तर उनी पार्टीका गतिविधिमा संलग्न हुनेबारे यकीन भएको छैन। ‘संवादहरु भइरहेको छ। कुलमानलाई मन्त्री भएका बेला पार्टीमा सक्रिय हुन अप्ठेरो भएको हो। अब सायद मिल्छ होला,’ रास्वपाका प्रवक्ता मनिष झाले भने, ‘बालेनजीको हकमा कुनै समस्या छैन।’

एकतापछि चर्किएको विवाद मत्थर पार्न रास्वपाले महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा एकता समायोजन समिति बनाएर लगातार अनौपचारिक वार्ता गरिरहेको छ।

बालेनले कुलमान पक्षको समायोजनमा जोड दिइरहँदा कुलमान पक्षले भने पुस १४ गते रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टीलाई नै ब्युँताउन खोजिरहेको छ।

बालेन र कुलमान

समानुपातिक सूचीमा आफ्नो पक्षका उम्मेदवारलाई तल्लो क्रममा राखेको भनेर असन्तुष्ट कुलमानले पदाधिकारीमा पनि भने अनुसार स्थान नपाएको भन्दै मन खिन्न पारेको र त्यही कारण केन्द्रीय समितिमा मनोनयनका लागि नाम नदिएको उनी निकट नेताहरुले बताएका छन्।

ती नेताका अनुसार उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायसहितको समूहले पार्टीलाई ब्युँताउन फेरि गृहकार्य गरिरहेको छ। कुलमानले पुस १४ गते आफू रास्वपाको उपसभापति हुने गरी ७ बुँदे सहमति गरेका थिए।

कुलमानले उज्यालो नेपालकै तर्फबाट विभिन्न ठाउँमा भेला गरिरहेका छन्। पार्टी गतिविधिमा संलग्न भएको भन्दै सरकारबाट बाहिरिन दबाब परेपछि उनले बुधबार राति उर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको नेतृत्व छोडेका छन्।

कुलमानले रास्वपामा सक्रिय हुने या उज्यालो नेपाललाई नै अघि बढाउने भन्नेबारेमा स्पष्ट पारेका छैनन्। तैपनि रास्वपासँग मन नमिलेको उनले प्रष्ट पारेका छन्। ‘एकताको प्रक्रियामा जान सबैको सम्मान हुनुपर्छ। स्वाभिमानलाई मेटाएर अघि बढ्दैनौं। रास्वपासँग भएको एकता मसँग होइन, उज्यालो नेपाल पार्टीसँग भएको हो,’ उनले भने।

सोमबार उज्यालो नेपालको रामेछाप सम्पर्क समितिले भक्तपुरमा गरेको कार्यक्रम तथा मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने ओख्रेनीमा दुईवटा कार्यक्रममा सहभागी भएका थिए।