सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि ८२ करोडको आइपीओ निष्कासन गर्दै



बिजमाण्डू
२०८२ पुष २० गते ११:४२ | Jan 4, 2026
सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि ८२ करोडको आइपीओ निष्कासन गर्दै

काठमाडौं। सोलु हाइड्रोपावरले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई वितरण गरेपछि पुस २९ गतेदेखि सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

हाइड्रोपावरले स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर वितरण गरेपछि ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ। कम्पनीको आइपीओमा सर्वसाधारणले माघ ४ सम्म १० देखि १ लाख कित्ताका लागि आवेदन दिन सक्ने‍छन्।

हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट कुल पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। आइपीओमा आवेदन दिन सर्वसाधारण लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आफ्नो बैंक तथा वित्तीय संस्थाबाट अनलाइन आवेदन दिन सक्नेछन्।

न्यूनतम १० कित्ता आवेदन गर्न पाइने भएकाले साना लगानीकर्ताको पहुँच पनि सुनिश्चित हुने कम्पनीको भनाइ छ। आयोजना निर्माणका लागि कम्पनीले स्वदेशी तथा विदेशी बैंकबाट ऋण व्यवस्थापन गरिसकेको र हाल भौतिक प्रगति सन्तोषजनक रहेको जनाएको छ। आयोजना सम्पन्न भएपछि वार्षिक करिब ४५० गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कम्पनीले कुल निष्कासनमध्ये आयोजना प्रभावित स्थानीयका लागि १ करोड कित्ता सेयर वितरण गरिसकेको छ। आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको-७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिकाको-१ का स्थानीयले ४० लाख कित्ता तथा सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका अन्य वडाका स्थानीयका लागि ६० लाख कित्ता सेयर वितरण गरेको थियो।

कम्पनीले हाल ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजनाको अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ छ।

आइपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले इआरएन डबल बी इस्यूअर रेटिङ दिएको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल लिमिटेड छन्।