अख्तियार प्रमुख प्रेम राईलाई हत्या गर्ने धम्की दिएका प्रकाश पाठक फिलिपिन्समा पक्राउ



बिजमाण्डू
२०८२ पुष १९ गते १९:०१ | Jan 3, 2026
अख्तियार प्रमुख प्रेम राईलाई हत्या गर्ने धम्की दिएका प्रकाश पाठक फिलिपिन्समा पक्राउ
फरार अभियुक्त प्रकाश पाठक। तस्बिर : फिलिपिन्सको अध्यागमन ब्यूरो।


काठमाडौं। उच्च पदस्थ सरकारी अधिकारीहरूको हत्याको षड्यन्त्र गरेको अभियोगमा फरार रहेका प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्। पक्राउपछि उनलाई देश निकाला प्रक्रिया पूरा नहुन्जेल फिलिपिन्सको अध्यागमन ब्यूरोले हिरासतमा राखेको छ।

Tata
GBIME

फिलिपिन्स न्युज एजेन्सीका अनुसार ३३ वर्षीय पाठक पुस १६ गते बुलाकान प्रान्तको पासेओ दे कांग्रेसो क्षेत्रमा पक्राउ परेका थिए। उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई हत्या गर्ने धम्की दिएका थिए।

अध्यागमन ब्यूरोले फिलिपिन्स सेन्टर अन ट्रान्सनेसनल क्राइमसँगको समन्वयमा उनलाई पक्राउ गरेको जनाएको छ। नेपालस्थित काठमाडौं जिल्ला अदालतले मंसिर १५ गते पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

इन्टरपोलले मंसिर २६ गते पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्रसम्बन्धी मुद्दामा ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो। यस्तो नोटिस रेड नोटिसभन्दा कम औपचारिक मानिन्छ।

अध्यागमन ब्यूरोको अनुसन्धानले पाठक नेपालमा गम्भीर सुरक्षासम्बन्धी गतिविधिमा संलग्न रहेको देखाएको छ। उनले फरार कैदीहरूलाई आत्मसमर्पण नगर्न उक्साएका थिए।

उनले फरार कैदीहरूलाई आर्थिक सहयोगको प्रस्ताव समेत गरेको बताइएको छ। उनीसँग हतियार रहेको पनि उल्लेख गरिएको छ। पाठकलाई नेपाल झिकाउन प्रक्रिया भइरहेको बताइएको छ।

फिलिपिन्सको अध्यागमन ब्यूरोको अभिलेखअनुसार पाठक गत भदौ २ गते फिलिपिन्स प्रवेश गरेका थिए। उनलाई पुस ३ गतेसम्म उक्त देशमा बस्न अनुमति दिइएको थियो।

अध्यागमन आयुक्त जोएल एन्थोनी भियादोले राष्ट्रपति फर्डिनान्ड आर. मार्कोस जुनियरको स्पष्ट निर्देशनअनुसार पाठकलाई पक्राउ गरिएको बताए। उनका अनुसार फिलिपिन्सलाई फरार अभियुक्तको सुरक्षित आश्रयस्थल बन्न नदिने सरकारको नीति छ। सार्वजनिक सुरक्षा र अन्तर्राष्ट्रिय सुरक्षामा खतरा हुने विदेशीलाई खोजी गरी पक्राउ गर्ने र कानुनअनुसार कारबाही गरिने उनले बताए।