काठमाडौं। अण्डाको खपत बढ्न थालेपछि भाउ हप्तैपिच्छे महँगिन थालेको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबार अण्डाको समर्थन बिक्री मूल्य क्रेटमा २० रुपैयाँले बढाएको छ।
संघले एक्सएल अण्डाको मूल्य प्रति क्रेट ५८० रुपैयाँ पुर्याएको छ। गत साताको भन्दा एक्सएल अण्डाको भाउ क्रेटमा २० रुपैयाँ बढेको हो।
मंसिर सुरु भएपछि एक्सएल अण्डाको भाउ मात्रै क्रेटमा ६० रुपैयाँ वृद्धि भएको छ। त्यस्तै, ठूलो अण्डा क्रेटमा २० रुपैयाँ बढेर प्रति क्रेट ५६५ रुपैयाँ पुगेको छ।
मिडियम अण्डा पनि गत साताको भन्दा क्रेटमा २० रुपैयाँ बढेर प्रति क्रेट ५५० रुपैयाँ पुगेको छ। सानो अण्डा ११ प्लसको भाउ भने प्रति पेटी ३२५० रुपैयाँ नै यथावत छ। बढेको मूल्य मंगलबारदेखि बजारमा लागू हुनेछ।
नेपाल लेयर्स कुखुरापालक संघका अनुसार अण्डाको खपत बढ्न थालेपछि भाउ महँगो हुँदै गएको हो। उत्पादन कम हुँदा अबको केही समय भाउ बढ्दै जाने अवस्था देखिएको संघले जनाएको छ।
संघका अनुसार हाल दैनिक २५ लाख गोटा अण्डा उत्पादन हुने गरेको छ।








