बैंकका महिला कर्मचारीको साथबाट सुन र नगद लुटपाट गरेको अभियोगमा ४ जना पक्राउ



बिजमाण्डू
२०८२ मंसिर ११ गते १२:२४ | Nov 27, 2025
बैंकका महिला कर्मचारीको साथबाट सुन र नगद लुटपाट गरेको अभियोगमा ४ जना पक्राउ
फाइल फोटो।


काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ।

Tata
GBIME

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरूलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा स्याङ्जा घर भई तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोट घर भई तारकेश्वर बस्ने २० वर्षीय बिशाल राई, नुवाकोटका १८ वर्षीय साजन तामाङ र नुवाकोटकै १९ वर्षीय समीर तामाङ छन्। उनीहरूले गत मंसिर ८ गते महिलालाई लुटपाट गरी फरार रहेको आरोप छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले साँझको समयमा हिँडेर घर फर्किने क्रममा महिलाको साथमा रहेको नगद, सुन, बैंकका चाबी, मोबाइल सेट र महत्त्वपूर्ण कागजातसहितको झोला लुटपाट गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

उनीहरूले मोटरसाइकलबाट आएर लुटपाट गरी भागेका थिए। पक्राउ परेकासँग प्रहरीले मोबाइल, चाँबीको झुप्पो लगायतका सामानसहित १२.६३० ग्राम सुनको झुम्का, ७.८ लालको सुनको टप, २ हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ।

पक्राउ परेका चारैजनालाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस