अभिनेता धर्मेन्द्रको निधन, ‘शोले’का विरुलाई सम्झिरहनेछ बलिउड



बिजमाण्डू
२०८२ मंसिर ८ गते १५:२५ | Nov 24, 2025
अभिनेता धर्मेन्द्रको निधन, ‘शोले’का विरुलाई सम्झिरहनेछ बलिउड


बलिउडका अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको मुम्बईस्थित घरमा सोमबार निधन भएको सञ्चार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।

Tata
GBIME
Nepal Life

सिकिस्त बिरामी भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएका उनलाई अघिल्लो साता स्वास्थ्यमा सुधारपछि परिवारले घर लगेका थिए। उनको निधनले भारतीय सिने उद्योगले एउटा सुवर्ण युग गुमाएको अनुभूति गरिरहेको बलिउडका सिनेकर्मीहरुले सामाजिक सञ्जालमा लेख्दै श्रद्धाञ्जलि दिइरहेका छन्।

बलिउडका ‘ही-म्यान’ भनिने धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा काम गरेका थिए। १९३५ डिसेम्बर ८ मा पञ्जाबको लुधियाना जिल्लाको सहनेवाल गाउँमा जन्मेका धर्मेन्द्रको पूरा नाम धर्मेन्द्र के. देओल हो। उनका पिता विद्यालयका प्रधानाध्यापक थिए। सामान्य पृष्ठभूमिबाट आएका उनले विद्यालय शिक्षापछि रामगढ़िया कलेज, फगवारामा अध्ययन गरे। सानैदेखि फिल्मप्रति मोह राख्ने उनले बम्बै (हाल मुम्बई) पुगेर फिल्मफेयर पत्रिकाद्वारा आयोजित ‘नयाँ प्रतिभा खोज’ प्रतियोगितामा भाग लिएका थिए, जसबाट उनलाई फिल्म क्षेत्रमा प्रवेशको बाटो खुलेको थियो।

धर्मेन्द्रले सन् १९६० मा ‘दिल भी तेरा हम भी तेरे’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका थिए। प्रारम्भमा रोमान्टिक भूमिकामा देखिएका उनी छिटै बलिउडका प्रमुख नायकका रूपमा स्थापित भए। सन् १९६६ मा ‘फूल और पत्थर’बाट उनले ठूलो सफलता पाए, जसले उनलाई स्टारडमको शिखरमा पुर्‍यायो। त्यसपछि ‘मेरा गाउँ मेरा देश’, ‘सीता और गीता’, ‘यादों की बारात’, ‘चुपके चुपके’ र सन् १९७५ को सुपरहिट फिल्म ‘शोले’ मा वीरूको भूमिकाबाट उनले बलिउडमा प्रभावशाली स्थान हासिल गरे।

‘आइ मिलन की बेला,’ ‘आए दिन बहार के,’ ‘आया सावन झुम के,’ ‘मेरा गाँव मेरा देश,’ ‘राजा जानी,’ ‘जुगनु,’ ‘धरम वीर,’ ‘चरस’ ‘चाचा भतिजा,’ ‘आँखे,’ ‘शिकार,’ ‘द बर्निङ ट्रेन,’ ‘गजब,’ ‘राजपूत,’ ‘बदले की आग,’ ‘सम्राट,’ ‘कातिलों के कातिल,’ ‘गुलामी,’ ‘करिश्मा कुदरत का,’ ‘फरिश्ते,’ ‘कब क्युं और कहाँ,’ ‘बाजी,’ जागिर,’ ‘जिने नहीं दुंगा,’ ‘नौकर बीबी का,’ ‘नाकाबन्दी,’ ‘मैदान ए जंग,’ ‘लोहा,’ ‘इन्सानियत के दुश्मन,’ ‘आग ही आग,’ ‘हुकुमत,’ ‘तहलका,’ ‘एलान ए जंग’ लगायत थुप्रै फिल्म उनको भूमिकाका लागि स्मरणीय छन्।

उनको बलियो व्यक्तित्व र एक्सन भूमिकाका कारण उनलाई ‘ही-म्यान अफ बलिउड’ उपनामले चिनिन्थ्यो। उनले रोमाञ्चकदेखि हास्य र गम्भीर भूमिकासम्म सशक्त अभिनय गरेका थिए। करियरभर उनले दुई सयभन्दा बढी फिल्ममा अभिनय गरे र दर्शकका प्रिय बने। धर्मेन्द्रले निर्माता र राजनीतिज्ञको भूमिकामा पनि योगदान पुर्‍याए। सन् २००४ मा उनी भारतीय जनता पार्टीबाट संसद् सदस्य समेत बने। २०१२ मा भारत सरकारले उनलाई ‘पद्म भूषण’ सम्मानले विभूषित गरेको थियो।

उनले दुई विवाह गरेका थिए। जेठी पत्नी प्रकाश देवल हुन् भने कान्छी अभिनेत्री हेमा मालिनी हुन्। उनका छोराछोरी सनी, बबी र इसा देओल पनि बलिउडका स्थापित कलाकार हुन्। बलिउडमा उनका सन्तानहरूले पनि अभिनयको परम्परा अगाडि बढाइरहेका छन्। धर्मेन्द्रले कलाकारसँगै फिल्म निर्माताको काम पनि गरेका थिए।

सन् १९८३ मा विजेता फिल्म्स कम्पनी खोलेका उनले सोही वर्ष जेठा छोरा सनीलाई फिल्म ‘बेताब’मा ब्रेक दिएका थिए भने १९९० मा ‘घायल’ बनाएका थिए। दुवै फिल्मले राम्रो व्यापार गरेको थियो। १९९५ मा बनाएको ‘बरसात’ बाट कान्छा छोरा बबी र राजेश खन्नाकी छोरी ट्वीन्कलका लागि बलिउडमा काम गर्ने बाटो खोलिदिएका थिए।

उनको निधनसँगै बलिउडका कलाकार, राजनीतिज्ञ र सर्वसाधारणले श्रद्धाञ्जलि अर्पण गरेका छन्। फ्यानहरूले सामाजिक सञ्जालमा लेखेका छन् – ‘धर्मेन्द्र मात्र अभिनेता होइनन्, उनी एक युग हुन्।’