आगजनी र तोडफोडमा संलग्न २६७ जना पक्राउ, चिया पसलमा भेटेर टीओबी गएको थियो बानेश्वर



बिजमाण्डू
२०८२ मंसिर ८ गते १५:२२ | Nov 24, 2025
आगजनी र तोडफोडमा संलग्न २६७ जना पक्राउ, चिया पसलमा भेटेर टीओबी गएको थियो बानेश्वर


काठमाडौं । नेपाल प्रहरीले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र हिंसामा संलग्न भएको आरोपमा काठमाडौंमा २६७ जनालाई पक्राउ गरेको छ।

Tata
GBIME

आज पत्रकार सम्मेलन गर्दै प्रहरीले २६७ जना पक्राउ परेको र १५४ वटा मुद्दा दर्ता भएको जनाएको हो। मुद्दा दर्ता भएका मध्ये अदालतको आदेशमा ४३ जना पूर्पक्षको लागि थुनामा पठाइएको छ।

प्रहरीले प्रदर्शनका क्रममा विभिन्न घटना भएका २२२ ठाउँमा हालसम्म मुचुल्का उठाएको पनि जनाएको छ। हालसम्म प्रदर्शनका सिलसिलामा १०४ वटा जाहेरी परेको छ।

त्यस्तै, प्रहरीले टीओबी नामको समूहमाथि पनि छानबिन गरेको जनाएको छ। प्रहरीले बानेश्वरसहित विभिन्न क्षेत्रमा बाइक पड्काउँदै हिँडेको सो टोलीको एकजना सदस्य तेन्जिङलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। त्यसक्रममा ती व्यक्तिको नागरिकताबारे पनि अध्ययन भएको थियो।

प्रहरीले नियन्त्रणमा लिएको बाइक

प्रहरीले टीओबीमा ५७ जना सदस्य रहेको खुलेको र प्रदर्शनमा जानेबारे २४ गते बिहान गोपीकृष्ण हल नजिकैको चिया पसलमा भेटेर छलफल भएर योजना बनेको बताएको छ।

हाल सो समूहमा करिब २५ जना सक्रिय रहेको अनुसन्धानमा खुलेको छ। प्रदर्शनको दिन भने ३१ जना बाइकमा बसेर प्रदर्शनमा पुगेका थिए। सो दिन उनीहरुले २० वटा मोटरसाइकल प्रयोग गरेको देखिएको छ। प्रहरीले १४ वटा बाइक नियन्त्रणमा लिएको छ।

बाइक प्रयोग गर्ने टीओबीका सदस्यहरु अधिकांश विद्यार्थी रहेको पाइएको छ। प्रहरीले युवाहरुको अभिभावक बोलाएर बाइक जिम्मा लगाउने गरिरहेको छ। बौद्दमा रहेको फुलवारी कम्प्लेक्समा सन् २०१७ मा रहेको ट्याटु हाउसको नाम टिओबीको धारणा बनेको देखिएको छ।

तर टि‍‌ओवीको स्थापना २०२४ जुन १० मा बाइकर्स ग्रुपको रुपमा भएको देखिन्छ। तर यो दर्ता भएको छैन। सस्थापक अध्यक्षमा तेन्वजिन दावा लामा रहेका छन्।