पोखरा। प्याराग्लाइडिङ, अल्ट्रालाइट, हट एयर बेलुनदेखि स्काइडाइभिङसम्मका साहसिक हवाई खेलले पोखराको पर्यटनलाई विशेष बनाएका छन्। यतिबेला पोखरामा स्काइडाइभिङको १५ दिने कार्यक्रम जारी छ, जो आगामी शनिबारसम्म सञ्चालन हुँदैछ।
हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयरसँग सहकार्यमा इनस्काइ स्काइडाइभ कम्पनीले पोखरा–२३ पामे, लौराकस्थित एभिया क्लबको अभ्यास मैदानबाट स्काइडाइभिङ गराइरहेको छ। सञ्चालक निर्मल पाण्डेका अनुसार हेलिकप्टर पोखराको पुरानो विमानस्थलबाट उडाएर करिब १३ हजार फिट उचाइमा पुग्नेबित्तिकै प्रशिक्षकले पर्यटकलाई हाम फाल्ने अनुमति दिन्छन्।
उनका अनुसार हाल ५२ जना नेपाली र विदेशीले स्काइडाइभिङको अनुभव लिइरहेका छन् भने १२ जना रसियन स्पोर्टस् जम्पर्स पोखरा आउँदैछन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल एकपटकमा जम्मा १५ दिनका लागि मात्र स्काइडाइभिङको अनुमति दिने गरेको छ। पाण्डे भन्छन्, ‘सीमित अवधिका कारण बजार प्रवर्धन र दिगो व्यवस्थापनमा चुनौती छ।’ उनका अनुसार प्राधिकरणले मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र (‘आरएओसी’) प्रदान गरेमा स्काइडाइभिङलाई नियमित रूपमा सञ्चालन गर्न सकिनेछ, जसले पर्यटन, रोजगारी र आम्दानीमा ठूलो योगदान पुर्याउनेछ।
हाल मन्त्रालयबाट इजाजतपत्र पाए पनि ‘आरएओसी’ नपाएकाले कम्पनीहरूले हेलिकप्टर कम्पनीसँग छुट्टै सम्झौता गरी स्काइडाइभिङ सञ्चालन गर्दै आएका छन्। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार स्काइडाइभिङका लागि पोखरा र सगरमाथा क्षेत्र उपयुक्त गन्तव्य हुन्। उनले भने, ‘मापदण्ड पूरा गर्ने कम्पनीलाई आरएओसी दिने प्रक्रिया अघि बढाइएको छ, सकेसम्म यही आर्थिक वर्षभित्र सुरु गर्छौं।’
‘आरएओसी’ पाउनका लागि कम्पनीसँग आफ्नै हेलिकप्टर वा पाँच वर्षे सम्झौता, प्रशिक्षक, आधारस्थल र छुट्टै एयर स्पेस आवश्यक हुने पनि उनले बताए।
इनस्काइका प्रशिक्षक एलिस थापाका अनुसार अहिले पोखरामा तीन प्याकेजमा स्काइडाइभिङ गराइन्छ। नेपालीका लागि शुल्क क्रमशः डिलक्स ९५ हजार, भीआइपी १ लाख १५ हजार र डायमण्ड प्याकेज १ लाख ५० हजार रुपैयाँ तोकिएको छ। विदेशीका लागि मूल्य ७५० देखि १,२०० अमेरिकी डलरसम्म छ।
थापाका अनुसार हेलिकप्टरबाट १३ हजार फिट उचाइमा हाम फालेपछि ५० सेकेन्डमा प्यारासुट खुल्ने र करिब आठ मिनेटसम्म हवाई उडानको आनन्द लिन सकिन्छ। “पोखराका हिमाल र प्राकृतिक सौन्दर्य हेर्दै उड्दा साहसिक पर्यटक जीवनकै अभूतपूर्व क्षणको अनुभव गर्छन्,” उनले भने।
स्काइडाइभिङलाई व्यावसायिकरूपमा अगाडि बढाउन कम्पनीहरूले आशा व्यक्त गर्दै प्राधिकरणलाई शीघ्र ‘आरएओसी’ प्रदान गर्न आग्रह गरेका छन्। पोखरालाई साहसिक खेलको विश्वस्तरीय केन्द्र बनाउने लक्ष्यसँगै यो गतिविधिले देशको पर्यटन र अर्थतन्त्रमा नयाँ सम्भावना थपेको छ। रासस











