काठमाडौं। फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा धमाधम तयारी चलिरहेको छ। प्यारापिट पछि फ्लडलाइट राख्ने र ओनर बक्स निर्माण लगायतका केही अस्थाइ संरचनाका काम धमाधम चलिरहेको छ।
कीर्तिपुर मैदान परिसरमै गरेको कुराकानीमा नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य तथा एनपीएल गभर्निङ काउन्सिलका सदस्य सुदिप शर्माले धेरै हिसाबले तयार भए पनि केही काम बाँकी रहेको बताउँछन्।
‘हाम्रो आवश्यक तयारीहरु लगभग सबै सम्पन्न भइसकेका छन्। धेरै वटा कुराहरुमा हामी तयारी अवस्थामै छौँ,’ उनले भने, ‘ग्राउन्ड र पिचको चाहिँ राम्रो तयारी भैकेको छ। पहिलो फेजको कामहरु भएको छ।’

उनले एनपीएल अघि पहिलो फेजको काम सकिने भन्दै दोस्रो फेजमा मात्र बाहिरी संरचनामा काम हुने बताए।
‘बाहिरी संरचना चाहिँ दोस्रो फेजमा बन्ने हो। यसमा हामीले तत्कालका लागि यसलाई कभर गर्ने, तारबार गर्नेलगायतको काम भइरहेको छ,’ उनले भने, ‘१० हजार हाराहरीको क्षमता छ। फ्लडलाइटको काम एनपीएल अघि नै सक्न उहाँहरु प्रयासरत हुनुहुन्छ। उचाइमा चडेर गर्ने काम भएकाले सोचेजस्तो स्पीडमा चाहिँ हुँदैन। सुरक्षालाई पनि त्यतिकै ध्यान पुर्याउनुपर्ने हुन्छ।’

उनले फ्लडलाइटमा गराउने संरचनाका लागि तयार रहेको बताए। उनले यसपाला अनुभव फरक हुने बताए।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेबाट सुरु हुँदैछ। यसमा उपाधिका लागि ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्। यसअघि पहिलो संस्करणमा सुदरपश्चिम रोयल्सलाई हराएर जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो।





















